बैतडीमा घर परिवार सूचीकरण कार्य ९० प्रतिशत सम्पन्न
2021/10/02, 11:45
 
dd

राष्ट्रिय जनगणना ०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण कार्य अन्तिम चरणमा पुगेको छ । घर तथा घर परिवार सूचीकरणका लागि बैतडीका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

सूचीकरणका लागि ३० भदौदेखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालित छन् । ‘सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार संख्या दर्ता भइसकेको छ,’ उनले भने, ‘सुपरिवेक्षकले मोबाइल एपको सहायताले कार्यस्थलबाटै दैनिक विवरण भर्ने गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ । १८ असोजसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार संख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए । ‘पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको  काम भइरहेको छ ।’

सरकारले प्रत्येक १० वर्षमा जनगणना गर्ने गर्दछ । यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको हो ।