जिल्ला प्रशासन कार्यालय डोटीले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताईन् ।
“चाडपर्वमा नागरिकले दुःख नपाउन् भनेर हामीले सुरक्षा योजना बनाएका छौँ, ढुक्कसँग बिना भीडभाड घरैमा पर्व मनाउँदा हुन्छ,”उनले भनिन् । उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन यहाँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेक गरिने उनले बताईन् ।
यसैगरी यहाँका बसपार्क तथा सार्वजनिक ठाउँमा पनि चौबिसै घण्टा प्रहरी खटिने व्यवस्था मिलाइएको छ भने प्रमुख व्यापारी केन्द्र पिपल्ला तथा राजपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दिपायलमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारबाही गरिने उक्त सुरक्षा योजनामा समावेस गरिएको छ ।
कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम तथा बढी भीडभाड नगर्नसमेत प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्लामा जुवा, तास खेल्ने र मदिरा सेवन गर्ने कार्य रोक्नका लागि प्रहरीले निरन्तर अनुगमन गर्ने गरी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन उनले सबैमा आग्रह गरे ।