बझाङ विद्युतका प्रमुखलाई अश्लील गालीगलौज गर्ने विद्यालयका अध्यक्ष पक्राउ
2021/10/05, 7:09
 
dd

नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख हरेन्द्रराय यादवलाई गालीगलौज गरेको भन्दै एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का गंगाबहादुर खड्कालाई पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ। उनी पाण्डु मावि व्यवस्थापन समितिका अध्यक्ष हुन्।

विद्युत लाइन रहेको क्षेत्रमा विद्यालयको नयाँ भवन निर्माण गरिरहेको भन्दै खड्काले विद्युत पोल हटाउन दबाब दिँदै आएका थिए।  विद्यालयको भवन निर्माणमा विद्युत लाइन बाधक भएको भन्दै खड्काले वितरण केन्द्रमा निवेदन समेत दिएका थिए।

सोही निवेदनका आधारमा विद्युत प्राधिकरणले पोल सार्न लाग्ने ७४ हजारको स्टिमेट निर्माण गर्दै विद्यालयलाई दिएको थियो। तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले प्राधिकरणको खातामा रकम जम्मा नगरी विद्युत लाइन सार्न दबाब दिँदै आएका थिए।

 सोही अनुरुप गत शुक्रबार खड्कासहितको समूह विद्युत कार्यालयमा गएको थियो। विद्युतका कर्मचारीले उनीहरुलाई सम्झाएर पठाएका थिए। त्यसपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर खड्काले आफूलाई शुक्रबार राति नै ९ बजेर ५२ मिनेटमा फोन गरेर अश्लील गालीगलौज गरेको यादवले दिनेशखबरलाई बताए।

घटनाबारे वितरण केन्द्रका प्रमुख हरेन्द्रराय यादवले प्रहरीमा जानकारी गराएपछि अध्यक्ष खड्कालाई शनिबार पक्राउ परेका हुन्। उनको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।