मान्छेसँग नभई नहुने वस्तुमध्ये एक हो पैसा । पैसाविना जीवन चल्न सक्दैन । पैसा सामान्यतया दुईखाले स्वरुपमा हुन्छन् । सिक्का वा नोट । लोकप्रिय स्वरुप चाहिँ कागजी नोट नै हो । हलुका र खल्तिमा बोक्न सजिलो हुने भएकाले यस्तो नोटको प्रचलन विश्वव्यापी छ । हरेक व्यक्तिले प्रयोग गर्ने यस्ता नोटहरु छापिन्छन् चैं कसरी त ? धेरै मानिसहरु यसबारे अनभिज्ञ पाइन्छन् ।
नेपाल राष्ट्र बैंक नोट छपाई गर्न एकाधिकार प्राप्त संस्था हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले नेपाल राष्ट्र बैंकको काम कर्तव्य अधिकारमध्ये नोट निष्कासन तथा छपाईलाई पहिलो काममा राखेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको उक्त अधिकार र नोट छपाइ तथा टकमरी निर्देशिका २०६५ ले गरेको व्यवस्था वमोजिम नोट छाप्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकले ग्लोबल टेण्डरनुसार नयाँ नोट छाप्दै आएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बढेको अर्थतन्त्रको आकार, विदेशी मुद्राको सञ्चिति, सुन, चाँदी लगायतका बहुमुल्य द्रव्यहरुको सञ्चिति र अन्तर्राष्ट्रिय मुद्राकोषमा रहेको एसडीआर सुविधा लगायतको अध्ययनका आधारमा नोट छपाईको परिमाण तोकेर मुद्रा व्यवस्थापन विभागमा पठाउने गर्दछ ।
विभागले आवश्यक परिमार्जन संसोधन, मौज्दात रहेको नोट, बैंक तथा वित्तीय संस्थाले माग गरेको नोट, धुल्याउने नोट , टेण्डर प्रक्रिया तथा सार्वजनिक खरिद ऐन तथा नियमावली र गर्भनरको हस्ताक्षर सहितका प्रक्रिया पुरा गरेर राष्ट्र बैंक सञ्चालक समिति प्रस्तुत गर्छ ।
सञ्चालक समितिले अर्थमन्त्रालयको आर्थिक नीति विष्लेषण महाशाखा हुँदै मन्त्रिपरिषदमा नोट निष्कासनका लागि प्रस्ताव पठाउने र मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै नोट छपाईको काम सुरु हुने गर्दछ । मन्त्रिपरिषदले नै नोटको ‘सेक्युरिटी फिचर’ (नोटमा प्रयोग हुने निसान,छाप, आकार, प्रकार जनावर, हिमाल तथा नोटको गुणस्तर , असली र नक्कली नोट छुट्याउनका लागि प्रयोग हुने वाटरमार्क ) सम्वन्धी आवश्यक निर्णय गर्दछ ।
नेपालमा नोटको छपाई नहुने भएकाले नेपाल राष्ट्र बैंकले सार्वजनिक खरिद ऐननुसार ग्लोबल टेण्डर आव्हान गरी सबैभन्दा कम मूल्यमा नोट छाप्ने कम्पनीलाई छपाईका लागि अनुमति दिने गर्दछ । नेपाली मुद्राको छपाई एक पटक चीनमा भएपनि अधिकांश युरोपियन मुलुकहरुबाटै हुने गरेका छन् । जसमा जर्मनी, फ्रान्स लगायतका कम्पनी रहेको राष्ट्र बैंक स्रोतको भनाई छ ।
छपाईमा खर्च लाग्छ ?
नेपाल राष्ट्र बैंकले छाप्ने मुद्रा क्रय-विक्रयका लागि सर्वाधिकार प्राप्त विनिमय पत्र हो । नोट छपाईका आफ्नै आवश्यक प्रकृया, लागत र सीमाहरु रहेका हुन्छन् । नोट छाप्न र झुत्रा नोट धुल्याउनका लागि विभिन्न चरणहरु पारेर गर्दै अतिरिक्त लागत समेत लाग्ने गरेको छ । नेपालमा नोट छाप्नका लागि प्रिटिङ प्रेस नभएकाले ग्लोवल टेण्डर मार्फत छाप्ने गरिन्छ । नेपाल राष्ट्र बैंकले एक पटकमा ३० करोड देखि ५० करोडसम्मका नोटहरु छाप्ने गर्दछ । यस हिसावले नेपालले ठूला मात्रामा विदेशी कम्पनीलाई विदेशी मुद्रा भुक्तानी गर्ने गरेको देखिन्छ ।नोट छपाइमा लाग्ने लागतका कारण नेपाल सरकारले मुलुकी अपराध संहितामा सुरक्षित नोट प्रयोग नगर्नेलाई कारवाहीको व्यवस्था गरेको छ भने नेपाल राष्ट्र बैंकले नयाँ नोट प्रयोग सम्वन्धी कार्यविधि समेत कार्यान्वयनमा ल्याएको छ । प्रतिनोट नयाँ छपाईको लागत समेत नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जसनुसार १ हजारको १ थान नोट छाप्नका लागि ३.३७ रुपैयाँ, ५०० नोट छाप्नका लागि २.९२ पैसा, २.९९ रुपैयाँ, १ सयको नोट छाप्न ५० नोट छाप्न २.६७ पैसा, २० को नोट छाप्न लागि १.७३ रुपैयाँ १० को नोट छाप्न १.४० पैसा र ५ को नोट छाप्न १.६८ लाग्ने लागत लाग्ने गरेको छ । पछिल्लो समय १ र २ रुपैयाँको नोट प्रयोग वा माग हुन छाडेपछि नेपाल राष्ट्र उक्त नोटहरुको छपाई बन्द गरेको छ ।
ग्लोबल टेण्डर मार्फत नोट छपाई गर्न अधिकार पाएको कम्पनीले नेपाल सरकारले व्यवस्था गरेको सेक्युरिटी फिचर मापदण्डनुसार नोटको नमुना देखाउने गर्दछ । सेक्युरिटी फिचर र नमुना नोटको मापदण्ड पुरा भएपछि नोट छपाइको जिम्मेवारी पाएको विदेशी कम्पनीले अगाडी बढाउँछ । नोट छपाई काम पुरा भएपछि नेपाल ल्याएर नेपाल राष्ट्र बैंकको भल्टमा सुरक्षितरुपमा राखिन्छ ।
यसैगरी नेपाल राष्ट्र बैंकले नोट धुलाउने नियमावली २०५९ वमोजिम पुराना र झुत्रा नोटहरुलाई विशेष सुरक्षा घेराबीच नष्ट गर्छ । विगतमा नेपाल राष्ट्र बैंकले पुराना नोटहरु सरकार तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुको उपस्थितिमा डढाएर नष्ट गरिन्थ्यो । तर, चालु आर्थिक वर्षबाट नेपाल राष्ट्र बैंकले पुरान नोटहरुबाट ब्रिकेट निर्माण गर्न थालेको छ । राष्ट्र बैंकले पुराना नोटमा प्रयोग भएका नोटका नम्वरहरु नदोहोरिने गरी नयाँ नोट छाप्दै आएको छ ।