बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरस्थित रौलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण रिएको छ । ‘खान पुगोस, दिन पुगोस अभियान नेपाल’ को आयोजनामा सञ्चालन गरिएको शैक्षिक सामग्री सहयोग कार्यक्रम अन्तर्गत समाजसेवी तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले ५० थान ट्रयाक सुट सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
आफ्नो तथा श्रीमति मिरा थपलियाको जन्मदिनको अवसर पारेर पन्तले विद्यालयका विद्यार्थीहरूलाई ट्रयाकसुट सहयोग गर्नुभएको हो । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएका पन्तले जन्मदिनलाई औपचारिक उत्सवका रूपमा मनाउनु भन्दा समाजका आवश्यकता भएका वर्गलाई सहयोग गर्नु बढी अर्थपूर्ण हुने बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै ‘खान पुगोस, धन पुगोस अभियान नेपाल’ का संयोजक घनश्याम भट्टले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुग्ने उद्देश्यले विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको बताए । यस्ता सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रति आकर्षण बढ्नुका साथै अध्ययनमा थप उत्साह मिल्ने उनको भनाई छ ।
सहयोग स्वरूप प्राप्त ट्रयाकसुटले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ । सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै जन्मदिनको अवसरमा गरिएको यो सहयोगले शिक्षा क्षेत्रमा प्रेरणादायी सन्देश दिएको छ ।