नवरात्रि: नौ दिनमा नवदुर्गाको यी नौ रूपको पूजा गरिन्छ
2021/10/14, 9:16
 
dd

विविध जात, जाति, भाषा, धर्म र संस्कार संस्कृतिको साझा चौतारीका रूपमा रहेको नेपाली समाज यतिबेला बडा दशैँको संघारमा छ । बडा दशैँ नेपालीहरूको प्रमुख चाड हो । यस चाडलाई धार्मिक तथा संस्कृतिक पर्वको रूपमा मानाइन्छ ।माया, प्रेम र सद्भावको त्रिवेणीका रूपमा हेरिने दशैँलाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने चाडको रूपमा पनि हेरिन्छ । पौराणिक धार्मिक ग्रन्थहरूका अनुसार असत्यमाथि सत्यको विजय प्राप्त भएपछिको खुशीयालीबाट यो चाडको सुरुवात भएको हो ।

वैदिक युगमा मातादुर्गाले दानव महिसासुरको बध गरी देवगणहरूको रक्षा गरेको हुनाले यस पर्वलाई मातृशक्तिका रूपमा पनि मनाउने गरिन्छ । यसरी हेर्दा शोषित, पीडित र दुःखमा परेकालाई शक्ति दिई अन्यायी, अत्याचारीहरूलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्तिको मुख्य रूप दुर्गामातालाई मानिन्छ । बडा दशैँ आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुन्छ । घटस्थापनाको दिनदेखि नवमीको दिनसम्मलाई नवरात्र अर्थात् नौरथाको रूपमा मनाइन्छ । बडा दशैँमा नवरात्रको छुट्टै महत्व रही आएको छ ।

दुर्गा भवानीले महिसासुरलगायतका दानवहरूको बध गरेको धार्मिक कथाअनुसार नवरात्रमा देवी दुर्गाका नौ रूपको व्याख्या तथा पूजा उपसनाको महत्व र महिमाको चर्चा गरिएको छ । तसर्थ नवरात्रको अवधिमा देशभरका शक्तिपीठहरूमा देवी दुर्गामाताको पूजा, आरधना र उपासना गरिन्छ । नवरात्रमा देवता र दानव अर्थात् विशेष गरेर देवी दुर्गा र दानव महिसासुरबीच भएको युद्धको प्रकृति हेर्दा अहिलेको वैज्ञानिक युगमा गरिने अनुसन्धानमूलक कार्यको उच्चतम बिन्दु हो भन्न सकिन्छ । देवी दुर्गाले हरेक दिन आफ्नो रूप परिवर्तन गरी सोहीअनुसार दानव महिसासुरको व्यवहारको अध्ययन गरी उसलाई नष्ट गरेको किंवदन्ती धार्मिक ग्रन्थहरूमा भेटिन्छ । आश्विन शुक्लपक्षको नवरात्रमा नौवटा रूप धारण गरी प्रकट भएकी हुनाले दुर्गामातालाई यो समयमा नवदुर्गा भनी पुकारिन्छ । यसरी नवरात्रको नौ दिनमा प्रकट हुने नवदुर्गाका नौ रूपको शक्ति र पूजा आरधनाको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।

१) शैलपुत्री :
नवदुर्गाको पहिलो रूपलाई शैलपुत्री भनिन्छ । हिमालय पर्वतकी छोरीका रूपमा उत्पन्न भएकी हुनाले यिनलाई शैलपुत्री भनिएको हो । ६ वटा हात भएकी शैलपुत्रीले शंख, चक्र, गधा, पद्म, त्रिशुल र डम्बरु बोकेकी छन् ।

दानवहरूले देवगणमाथि आक्रमण गरेपश्चात् ‘महिसासुर’नामक दानवको नष्ट गर्न प्रकट भएकी शैलपुत्रीले सोही दिनबाट महिसासुरको बध गर्ने कि नगर्ने भन्ने अध्ययन कार्यको सुरुवात गरेको हुनाले यस दिनलाई विशेष महत्वका रूपमा हेरिन्छ र सोहीअनुसार पूजापाठ गरिन्छ ।

२) ब्रह्मचारिणी:
नवदुर्गाको दोस्रो रूप ब्रह्मचारिणी हो । ब्रह्म शब्दको अर्थ आत्मा अर्थात् तपस्या हो । पाँचवटा हात भएकी ब्रह्मचारिणी शंख, चक्र, गधा, पद्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् । ब्रह्मचारिणी अर्थात् तपश्विनी रूप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन, बध कसरी गर्नेजस्ता विषयको सूक्ष्म रूपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रूपमा लिइन्छ ।

ब्रह्मचारिणी दुर्गाको रूप पूर्ण ज्योतिर्मय छ । ब्रह्मचारिणीले आफ्नो ब्रह्मज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहिआएको हो । यो दिन हिन्दु धर्मावलम्बीहरूले भन्दा बौद्ध धर्मावलम्बीहरूले बढी माला जप गर्नेगरेको पाइन्छ । त्यसबाट पनि धार्मिक सहिष्णुताको पाठ सिक्न सकिन्छ ।

३) चन्द्रघण्टा :
नवदुर्गाको तेस्रो रूप चन्द्रघण्टा हो । चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्र छ । यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो । घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ ।

देवीले यस रूपमा सकरात्मक, नकरात्मक कुराको छानबिन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानबिनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पूर्ण शक्तिपीठ तथा देवीको मन्दिरमा सन्देशवाहकको रूपमा घण्ट राख्ने प्रचलन छ ।

४) कुष्माण्डा :
आफ्नो मन्द मुस्कानबाट अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो । यस रूपमा ब्रह्माण्ड उत्पन्न गरी महिसासुरलाई आफ्नो बहसमा ल्याउने काम गरेकी हुनाले शक्तिशालिनी र शान्तिदायनीको रूपमा लिइन्छ । नवरात्रको चौथो दिन देवी दुर्गाका मन्दिरलगायतका शक्तिपीठहरूमा दर्शन र पूजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।

५) स्कन्दमाता :
देवता र दानवहरूको युद्धको समयमा देवताका सेनापति युद्धबाजको नाम नै स्कन्द कुमार हो । यिनै स्कन्द कुमारकी माताको रूप नै स्कन्दमाता हो । शिव पुराणलगायतका पुराणहरूमा स्कन्द कुमारलाई शक्तिधरलगायतका नामबाट पनि स्तुति गरिएको छ । देवीले यस रूपमा स्कन्दकुमारलगायतका सेनाको उत्पति गराउने र मुख्य सन्देशमा सत्य र असत्य छुट्याउने काम गरेकी छन् ।

६) कात्ययानी :
दुर्गाको छैटौँ रूप कात्ययानी हो । कतका छोरा कात्या ऋषिको गोत्रमा जन्मिएका कात्ययानले कठिन तपस्या गरी दुर्गामातालाई छोरीको रूपमा पाएको हुनाले देवीको छैटौँ रूपलाई कात्ययानीको रूपमा पुकारिन्छ । यस रूपमा वा नवरात्रको छैटौँ दिनमा देवीले आफ्ना सम्पूर्ण इन्द्रियहरूलाई दानव महिसासुरको बध गर्नको लागि तयार गर्ने काम गरेकी छन् । महिसासुरले भगवान् विष्णुबाट आफ्नो मृत्यु जल, थल र वायु केही पनि नहोस् तथा भाला, तरबार, खुँडा तथा कुनै पनि हतियारबाट नहोस् भनी बरदान पाएको हुनाले उनको मृत्यु असम्भव थियो । त्यसैले देवीको यही रूपमा महिसासुरको मृत्यु कसरी र केबाट गर्ने भनी निश्चित गरिएको हुनाले यस दिन देवीको पूजा गर्नाले नयाँ–नयाँ ज्ञान प्राप्त हुने जनविश्वास रहिआएको छ ।

७) कालरात्रि :
दाँया ५ र बाँया ४ हात भएकी, दाँया हातमा त्रिशुल र तरबार तथा बाँया हातमा मुसल र दण्ड बोकेकी सबैलाई जित्न सक्ने, मार्न सक्ने क्षमता भएकी हुनाले कालरात्रि भनिएको हो । असत्यको विनास गर्नसक्ने भएकी हुनाले विनाशिनी पनि भनिन्छ ।

महिसासुरलगायतका दानवहरूले देवताहरूलाई दुःख दिएको हुनाले महिसासुरको नष्ट गर्न उत्पन्न भएकी नवदुर्गाले छैटौँ दिनसम्म दानवहरूको सत÷असत छुट्याई बध गर्ने निश्चय गरी सातौँ रूपमा कालरात्रिको रूपधारण गरी महिसासुरले भगवान् विष्णुबाट पाएको वरदान समेत नष्ट हुनेगरी आफ्नो काखमा राखी नङले महिसासुरको बध गरी असत्यमाथि सत्यको विजय गरेकी छन् । त्यसैले सप्तमीको रात्रिपश्चात् महाअष्टमीको दिन शक्तिपीठहरूमा राँगा, बोका, भेडाहरूको बलि दिने तथा मार हान्ने चलन रहिआएको छ ।

८) महागौरी :
नवदुर्गाको आठौँ रूपलाई महागौरी भनिन्छ । शंख चक्रजस्तै गोरी यिनले सबै बस्त्र तथा पहिरण सेतो धारण गरेकी छन् । आठौँ रूपलाई पनि दुई अवस्थामा व्याख्या गरिएको छ । पहिलो अवस्थामा शिवशक्तिको रूपमा किरा औसा उत्पन्न गरी मरेका महिसासुरलगायतका दानव शरिर तथा अन्य चिजलाई कुहाउने र सढाउने काम गरेकी छन् भने दोस्रो अवस्थामा गौरी रूपमा शान्त गराउने, शीतलता दिने वा आफूले गरेको बधको क्षय गर्ने काम गरेकी छन् ।

९) सिद्धिधात्री :
दाँया हातमा स्वस्तिक र कमल तथा बाँया हातमा अमृतघडा लिइएको नवदुर्गाको नवौँ रूप सिद्धिधात्री हो । अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने भएकी हुनाले यिनलाई सिद्धिधात्री भनिएको हो । असत्यमाथि सत्यको विजय गरी आफूले गरेको कामको सिद्धि गर्नसक्ने, आफूले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रूपमा नवदुर्गाले गरेकी छन् । तसर्थ नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यसरी नवरात्रमा नवदुर्गाले नौ रूप धारण गरी असत्यमाथि सत्यको, दानवतामाथि देवताको र अमानवतामाथि मानवताको विजय प्राप्त गरी शान्ति र शीतलता प्रदान गरेकी हुनाले असोज शुक्लपक्षको नवरात्रमा देवी दुर्गाका नौ रूपको पूजा गर्ने सर्वश्रेष्ठ समयको रूपमा लिइन्छ ।

नवरात्रमा नवदुर्गाको पूजा, आरधना र उपासना गर्नाले सुख, शान्ति, आरोग्य, विद्या, बुद्धि, मानसम्मान र आर्थिक लाभ हुने जनविश्वास रहिआएको छ ।