बैतडीको पुर्चौडीमा घर भाँसियो, पूरै बस्ती जोखिममा
2021/10/19, 8:12
 
Co

 बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ को दलित टोलमा पहिरोले एक घर पुरिएको छ भने पुरै टोल पहिरोको जोखिममा परेको छ। सोमबार राति २ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय मदन लुहारको घर पहिरोमा परेर ध्वस्त भएको छ

मनोज लुहारको घर पहिरोमा पुरिँदा घरभित्र रहेको अन्नपात र सरसमान पुरै नष्ट भएको वडाअध्यक्ष रामबहादुर ऐरले दिनेशखबरलाई बताए। पहिरोमा परेको परिवार तथा जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा अस्थाइ बसोबासको व्यवस्था मिलाउने प्रयास भइरहेको वडाअध्यक्ष ऐरले बताए।

दलित टोलका थप ९ घरसमेत पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष ऐरले बताए। स्थानीय नरे लुहार, दल्लो लुहार, महाबिर लुहार, गुन्जे लुहार, महेश लुहार, रैभान लुहार र विक्रम लुहार, हिरुवा लुहार र लाल लुहारको घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ।

दलित बस्तीका ४२ घर परिवार नै पहिरोको कारण जोखिममा रहेको वडासदस्य लोकेन्द्र ऐरले बताए। योसँगै वडाका अन्य टोल तथा बस्तीमा पनि पहिरो तथा जमिन भासिँने क्रम बढेको बताइएको छ। वडा नम्बर ७ को बडगाउँका विष्णु बडूको घर पनि पहिरोको जोखिममा रहेको वडा सचिव गणेशदत्त अवस्थीले बताए।

बैतडीको पुर्चौडी क्षेत्रमा पनि आइतबार रातिदेखि निरन्तर पानी परिरहेको छ।
 

खवर संवाददाता