प्रदेश सरकारले सुदूरपश्चिममा बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरेकाे छ । हेलिकप्टर मार्फत प्रदेश सरकारले तीन पहाडी जिल्ला डोटी, बैतडी र बझाङमा राहत वितरण गरेको हाे । राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायत स्वास्थ्य सामग्री छन् । तर प्रदेश सरकारले वितरण गरेको राहत न्यून मात्रामा भएकाे भन्दै आलाेचना भइरहेकाे छ ।
प्रदेश सरकारले राहत वितरणका नाममा नौटंकी मात्रै गरेको खप्तडछान्नाका उत्तम रोकायाले बताए । उनले भने ‘पीडितको विवरण संकलन भएकै छैन । सस्तो लोकप्रियताका लागि अन्धाधुन्दा राहत ल्याएर आए । तर यो राहत विस्थापित भएकाहरूका लागि एक छाक पनि पुग्दैन । महँगो हेलिकप्टर चार्टर गरेर पाँच क्वीन्टल चामल दिनुभन्दा यतैबाट किनेर दिएको भए नि हुने ।'
शनिबार प्रदेश सरकारले खप्तडछान्नामा पाँच क्वीन्टल चामलसहित नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका स्वास्थ्य सामग्री दिएको छ । राहत सामग्री अहिले वडा कार्यालयमा राखिएको छ । राहत सामग्री कम भएकाले कस्लाई दिने कस्लाई नदिने भनेर समस्या भएको वडाध्यक्ष किरण गिरीले बताए ।
उनले भने, 'प्रदेश सरकारले राहत त दियो तर एकदमै थाेरै छ । राहत कम भएकाले बाँड्न सकिएको छैन । गाँउपालिकाका वडाध्यक्षहरू बसेर छलफल गरि मृतकका परिवार र घरबारविहीनलाई मात्र दिने भन्ने निर्णय गरेका छौँ ।बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रकाे निरीक्षणका लागि मुख्यमन्त्री त्रिलाेचन भट्टसहितको टोली बझाङ आउने भएकाले थप राहतका विषयमा छलफल गरिने उनले बताए ।
आज मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले बझाङको थलारा र खप्तडछान्ना, बैतडीको ढुङ्गाड र डोटीका प्रभावित क्षेत्रका स्थानीयसँग भेटघाट गर्ने जनाइएकाे छ ।
बझाङमा बाढीपहिरोले सबैभन्दा ठूलो मानवीय क्षति थलारा गााउँपालिकामा भएको छ भने सबैभन्दा बढी भौतिक क्षति खप्तडछान्नामा भएको छ । खप्तडछान्नामा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । खेतमै काटेर सुकाउन लागेको धान र काट्न बाँकी रहेको धानसहितको खेत बगाएपछि छान्नावासीमा भोकमरी हुने चिन्ता छ ।
अहिलेसम्म खप्तडछान्नाको कालुखेतीमा ९, गडरायमा ४ र पाटादेवलमा १० परिवार घरबार विहीन भएका छन् । अन्य ६० परिवारको घर जोखिममा भएकाले आफन्तकोमा बस्दै आएका छन् । कतिपय गाँउकै विद्यालयमा आश्रय लिएर बसेका छन् ।