पहिरोमा परेर घर भत्किए पनि एक युवकले जोखिम मोलेर परिवारका चार सदस्यको ज्यान बचाएका छन् । बझाङको थलारा गाउँपालिका-४ डिक्लामा गत सोमबार राति पहिरो खसेको थियो । पहिरोले घर भत्किँदा पुरिएकाहरूको स्थानीय १८ वर्षीय सुरेन्द्र विष्टले उद्धार गरेका हुन् ।
माथिबाट एक्कासि आएको पहिरोले घर भत्किएपछि सुरेन्द्रसहित दाजु लोकेश विष्ट, भाउजू इन्द्रकला, भाइ र एक महिनाकी भतिजी घरमा च्यापिएका थिए । ‘सुतिरहेका बेला असिना परे जस्तो ठूलो आवाज आयो । म बिउँझेर उठें,’ सुरेन्द्रले भने, ‘उठेर बाहिर जान खोज्दै थिएँ घर पछाडिको पर्खाल भत्किएर सबै च्यापिए ।’ चारै जनाको उद्धार गरिनसक्दै पहिरोले घर नै पूरै बगाएको उनले बताए । ‘दाइले मरें भनेको सुनेपछि केही पनि नसोचेर धमाधम ढुंगा पन्छाउन थालें ।
मेरो शरीरमा पनि ढुंगा खसिरहेका थिए । ढुंगा छेक्दै सुरुमा दाइलाई निकालें । त्यसपछि भाउजू, भतिजी र भाइलाई निकालें,’ उनले सुनाए । सुरेन्द्रले करिब २० मिनेटको अवधिमा चार जनाको उद्धार गर्दा पहिरोमा खसेका ढुंगा लागेर उनीहरू घाइते भइसकेका थिए । ढुंगाले लागेर सुरेन्द्रको पनि टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । ‘सबैलाई बचाइसकेपछि मात्रै थाहा पाएँ । मेरो त शरीरभरि चोटैचोट लागेको रहेछ,’ उनले भने ।
सुरेन्द्रले साहस गरेर उद्धार नगरेको भए परिवारका सबै सदस्य एकै चिहान हुने निश्चित भएको उनकी भाउजू इन्द्रकलाले बताइन् । ‘एक्कासि ढुंगा खस्न थालेपछि मैले छोरीलाई बचाउन छातीमा च्यापेको याद छ । त्यसपछि केही थाहा पाइनँ,’ उनले भनिन्, ‘मलाई तानेर बाहिर निकालेको धेरैपछि मात्रै होस आयो ।’ उनले परिवारका अरू सबै सदस्यलाई चोट लागे पनि एक महिनाकी छोरीलाई भने केही नभएको बताइन् ।
‘भाइले जोखिम नउठाएको भए परिवार नै सकिने रहेछ,’ दाइ लोकेशले भने, ‘घरभित्रको सामान बचाउन नपाए पनि ज्यान बच्यो । त्यसैमा खुसी छौं ।’ उनले पहिरोले घर बगाएपछि जीउमा लगाएको लुगाबाहेक केही नबचेको बताए । जोखिम मोलेर परिवारको उद्धार गरेपछि सुरेन्द्रको गाउँमा प्रशंसा भइरहेको छ । उनलाई संविधानसभा सदस्यसमेत रहेका स्थानीय लालबहादुर रावल, गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय र वडाध्यक्ष विष्णु विष्टले भेटेरै बधाई दिएका छन् भने परिवारको पुनःस्थापना र राहतको व्यवस्था गर्ने आश्वासनसमेत दिएको सुरेन्द्रले बताए ।
जिल्ला अस्पताल बझाङबाट गएको डा. योगेन्द्र खातीको टोलीले उनीहरूको उपचार गरेको थियो । डिक्ला गाउँमा खसेको पहिरोमा बेपत्ता भएका २३ जनामध्ये आइतबारसम्म चार जनाको मात्रै शव फेला परेको छ । अन्यको खोजी भइरहेको प्रशासनले जनाएको छ ।