बझाङलाई विपद्‌ग्रस्त घोषणा गर्न माग
2021/10/30, 10:39
 
dd

बेमौसमी वर्षाका कारण बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था बुझ्न संघीय संसद्को विकास तथा प्रविधि समितिको टोली बझाङ पुगेको छ । समिति सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम चैनपुरका अन्तर्क्रिया गर्दै जिल्लावासीसँग सुझाव मागेको थियो । सहभागीले बझाङलाई निरन्तर बाढीपहिरोले तहसनहस पारेकाले विपद्ग्रस्त जिल्ला घोषणा गरिनुपर्ने माग गरे ।

कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले बझाङमा १२ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता छन् । ४ सयभन्दा बढी घर भत्किएका छन भने ८ सय ८६ परिवार विस्थापित छन् । जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प छन् भने विद्युत् अवरुद्ध छ । सदरमुकाम चैनपुरबाहेक जिल्लामा अन्त बिजुली छैन । २ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको प्रारम्भिक अनुमान छ । विपद्को १२ दिन बितिसक्दा पनि क्षतिको पूर्ण विवरण अझै तयार भइसकेको छैन ।

सेनाको हेलिकोप्टरमा आएको समितिको टोलीलाई प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको क्षतिको विवरण सुनाए । उनले भने ‘पुनर्निर्माण र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्‍यो ।’ बझाङकी सांसद आशा विकले जिल्ला नै छियाछिया भएको बताइन । ‘१५/२० वर्षयता विकासको क्षेत्रमा भएको लगानी सबै खतम भएको छ,’ उनले भनिन् ।

सभापति खड्काले सरकारलाई उचित सुझाव र निर्देशन दिने बताइन । नेपाल वायुसेवा निगमको नियमित उडान सञ्चालन र खाद्यान्नको व्यवस्थापनका लागि पनि पहल गर्ने आश्वासन उनले दिइन । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम कसरी गर्न सकिन्छ भनेर सर्वपक्षीय छलफल गरेका छन् ।