राष्ट्रिय भूमि आयोगका कर्मचारीले पाएनन २ महिनादेखिको तलब
2021/11/11, 6:31
 
aa

राष्ट्रिय भूमि आयोग मातहतका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन्। देशभर आयोग मातहत रहेर काम गर्ने अमीन तथा सर्वेक्षक लगायतका कर्मचारीहरुले दुई महिनादेखिको तलब नपाएको गुनासो गरेका हुन्। 

कैलालीको लम्कीचुहा नगरपालिकामा आयोगले खटाएका एक अमीनका अनुसार आयोगले असारसम्मको मात्रै भुक्तानी दिएको छ। उनले देशैभरका सबै कर्मचारीहरुलाई साउन र भदौको तलब नदिइएको बताए। आयोगबाट दसैं तथा तिहारमा तलब दिइने बताए पनि अहिलेसम्म तलब नदिएको उनको भनाई छ।

 तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग तथा हाल बनेको भूमि आयोग मातहत करारमा काम गर्ने कर्मचारीहरुले तलब नपाएका हुन्। आयोगले अटेरी गरेको उनीहरुको दुखेसो छ।  

यता, आयोगको लेखा शाखाले भने कर्मचारीको तलब दिन ढिलाई हुनुमा मन्त्रालयको कमजोरी रहेको बताएको छ। मन्त्रालयले ढिलो दरबन्दी स्वीकृत गरेकोले भएकाले ढिलाई भएको र मन्त्रालयसँग छलफल गरेर एक दुई दिनभित्रै तलब प्रदान गराइने लेखा शाखाकी एक कर्मचारी मनमाया निरौलाले बताइन्। यस्तै उनले तोकिएकै ठाउँमा सम्झौता गरेर कर्मचारीहरुलाई काम लगाउने समेत बताइन्।