बझाङमा दुर्गन्धित बन्दै सेती नदी
2021/11/25, 12:17
 
dd

बझाङको साईपाल हिमालबाट बग्ने सेती नदी दिनहुँ दुर्गन्धित बन्दै गएको छ। जयपृथ्वी नगरपालिका –१० चैनपुर छेउ भएर बग्ने सेती नदीमा स्थानीयले घरको ढल र प्लाष्टिक जस्ता फोहोर फाल्न थालेपछि नदी दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको हो।

सदरमुकाम चैनपुर आसपासका क्षेत्रबाट सेती नदीमा बढी फोहर फालिएको सहजै देखिन्छ। शौचालयको ढल र बजारको फोहोर सिधै नदीमा मिसाइएको देखिएको छ। धार्मिक आस्था बोकेको पवित्र सेतीमा फोहोर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै नदीमा क्षारियपना बढ्दै गएको छ। यस्तै पानीमा फोहोरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणीहरु हराउँदै जान थालेका छन्। अहिले थोरै देखिने जलचरहरु केही वर्षमा नभेटिनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।

‘यस्तो पवित्र पानीमा फोहर फालेपछि यसको असर बझाङ लगायत अन्य जिल्लाका नागरिकलाई पनि पर्छ’, स्थानीय धनबहादुर भण्डारीले भने, ‘अहिले पनि बझाङको सदरमुकाम चैनपुरदेखि अन्य सेती नदी किनारका स्थानीय दिनहुँ त्यहि नदीको किनारमा गएर नुहाउँने र कपडा धुने गर्छन्।’

सदरमुकाम चैनपुरदेखि केदारस्युँ गाउँपालिकाको देउरा बजारसम्म मात्र झण्डै ठूलो जनसंख्याले सेती नदीको प्रयोग गर्ने गर्छन्। नदी किनारका स्थानीय नदीको पानीमा नुहाउने, गाईवस्तुलाई पानी खुवाउने, बालुवा झिक्ने र दाउरा संकलन गर्ने जस्ता काम गर्छन्।

घरको धारामा पानी नआएका कारण पनि नदीकै भर परिरहेको चैनपुरमा डेरामा बस्दै आएकी कल्पना उपाध्यायले बताइन्। ‘फोहोर देख्छौं तर नदिको पानी सफा हुन्छ भन्ने विश्वासले यहि नुहाउने गरेका छौं’ उनले भनिन्। चैनपुर बजारमा पानी नआउँदा स्थानीयले बाध्य भएर सेतीकै पानी प्रयोग गर्नुपरेको उनी बताउँछिन्।

खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको हो। खोलामा सोझै फोहोर फाल्न नपाउने कानुनी व्यवस्था छ। ठोस फोहोर तथा ढल प्रशोधन नगरी नदी खोलामा हाल्न पाइदैन। तर जिल्लाकै ठूलो बजार सदरमुकाम चैनपुरमा संकलित फोहर केसलिया खोलाको डिलमा थुपारिँदै आएको छ।