कांग्रेस दार्चुलाको मतगणना जारी, साँझसम्म नतिजा आउने
2021/11/26, 2:05
 
dd

नेपाली कांग्रेस दार्चुला जिल्ला महाधिवेशनको मतगणना जारी रहेको छ । जिल्ला सभापति, कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

सभापति, कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि ९५६ जनाले मतदान गरेका थिए । खसेका मतबाट पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना चयन हुनेछन् ।

जिल्ला सभापतिका लागि ललितसिंह बोहरा र अमरसिंह धामी प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र (क)को मतगणना सुरुमा हुँदा पछिल्लो मतगणनाको नतिजाले क्षेत्र (क) घर भएका बोहराको अग्रता देखिएको छ ।

यस्तै उपसभापतिमा महादेव बडू कश्यप,ललितसिंह ठगुन्ना, उमेशसिंह खत्री, सन्तोषकुमार सिंह ऐतवाल र मानबहादुर बम प्रतिस्पर्धामा छन् । सचिवका लागि पुलेन्द्र बहादुर  कार्की, माधवराज भट्ट, महेन्द्रप्रसाद बडू, बिर सिंह डडाल, महेशसिंह धामी र देब सिंह धामी प्रतिस्पर्धामा छन् । यस्तै सहसचिवमा राजु अवस्थी, राजेन्द्रप्रसाद जोशी, सन्तोष दयाली र जयानन्द जोशी प्रतिस्पर्धामा छन् ।

अमरसिंह धामी पक्षका कार्यकर्ताले बोहरा पक्षले गलत रणनीतिले प्रतिस्पर्धा गरेको आरोप लगाएपछि बिहीबार  दुवै पक्षबिच झडप भएपछि शुक्रवार पनि मतगणना सुस्त गतिमा भइरहेको छ ।