२८ करोड ८१ लाखको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ
2022/01/03, 10:30
 
dd

कैलालीको धनगढीमा निर्माण भइरहेको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएको छ । तदारुकताका साथ काम नहुँदा गत भदौंमै निर्माण सम्पन्न हुनु पर्ने होल्डिङ सेन्टर अझै अधुरै रहेको हो । धनगढी उपमहानगरपालिका–३ बडहरास्थित एक सामुदायिक वनको जग्गामा बनिरहेको होल्डिङ सेन्टर तोकिएको समायवधिमा पूरा हुन नसकेपछि पुस मसान्तसम्म समय थप गरिएको छ । तर, थप गरिएको समयमा पनि निर्माण कार्य पूरा हुन सक्ने अवस्था नरहेको जनाइएको छ । 

निर्माण कम्पनी श्री हनुमान कन्स्ट्रक्सनका इन्जिनीयर विक्रम गैरेले रकम निकासामा ढिलाइ हुँदा काम तदारुकताका साथ अगाडि बढ्न नसकेको बताए । उनले माघ मसान्तसम्म सबै काम पूरा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै भने–‘बजेट निकासामा ढिलाइ हुँदा आवश्यक सामान खरिद गर्न समस्या छ । समान खरिद गर्न समस्या भएपछि निर्माणमा पनि ढिलाइ भएको हो ।’ उनले निर्माण सामग्री पनि पर्याप्त मात्रामा उत्पादन नहुँदा काम गर्न ढिलो भएको जिकिर गरे । नेपाल सरकारको लागतमा बनिरहेको सो होल्डिङ सेन्टरको गत असार ३ मा ठेक्का सम्झौता भएको थियो । श्री हनुमान कन्स्ट्रक्सनले २८ करोड ८१ लाख १२ हजार रुपैयाँमा ठेक्का पाएर ‘पेटी ठेकेदार’ लाई काममा लगाएको छ । 

अहिलेसम्म ठेक्काको २५ प्रतिशतमात्रै रकम निकासा पाएको निर्माण कम्पनीका इन्जिनीयर गैरेले बताए । उनले रकम निकासामा ढिलाइ हुँदा सामान खरिद गर्न समस्या भइरहेको उल्लेख गरे ।सामुदायिक वनको जग्गामा निर्माण भइरहेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा शौंचालय र १५ वटा डाइनिङ हलसहितको भान्सा बन्नेछ । हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ । एक हजार मान्छेलाई राख्न सकिने होल्डिङ सेन्टरमा ३०० शैया तयार भइसकेको इन्जिनीयर गैरेले जनाए । होल्डिङ सेन्टरमा अस्पतालको जस्तै शैयाका साथै एसोसेरिज रहनेछ । 

संघीय सरकारले केन्द्रबाटै होल्डिङ सेन्टरको ठेक्का सम्झौता गरे पनि निर्माण कार्यको अनुगमन÷निरीक्षणको जिम्मा भने धनगढी बोराडाँडीस्थित नेपाली सेनाको भवानी दल गणले पाएको छ । होल्डिङ सेन्टरमा गुणस्तरीय सामग्री परे वा नपरेको, गुणस्तरीय काम भए÷नभएको नेपाली सेनाकै इन्जिनीयरले हेर्ने कार्य गरिरहेको जनाइएको छ । यसैगरी, बजेट पनि नेपाली सेनालाई नै नेपाल सरकारले पठाइरहेको र बजेट निकासाको काम सेनामार्फत भइरहेको बताइएको छ । 

रोजगारीको सिलसिलामा भारत गएर स्वदेश फर्किने नेपाली कामदारलाई राख्ने उद्देश्यले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो । पहिलो लहरको कोरोना सङ्क्रमणका क्रममा गौरीफन्टा नाका भएर फर्किने नेपाली कामदारलाई उपयुक्त रुपमा व्यवस्थापन गर्न नसक्दा भुसको आगोझै समुदाय स्तरमा कोरोना फैलिएको थियो । हजारौंको संख्यामा फर्केका नेपाली कामदारमध्ये केहीलाई विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिए पनि कतिपय सिधै घर पुग्दा समस्या भएको थियो । 

कोरोना संक्रमणको दोस्रो लहरमा पनि त्यस्तै समस्या भएको थियो । नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट फर्केका नेपाली कामदारलाई व्यवस्थापन गर्न समस्या भएपछि होल्डिङ सेन्टर बनाउनु पर्ने माग गरिएको थियो । भारतबाट फर्किनेलाई व्यवस्थापन गर्नका लागि नाकामा एउटा होल्डिङ सेन्टर हुनु पर्ने चौतर्फी आवाज उठेपछि नेपाल सरकारले सुदूरपश्चिमको गौरीफन्टा र गड्डा चौकीमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । गड्डा चौकीमा पनि नेपाली सेनामार्फत होल्डिङ सेन्टरको निर्माण कार्य भइरहेको छ । 

नेपाल सरकारको ठूलो लगानीमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण कार्य पूरा भएमा कोरोना महामारीका क्रममा भारतबाट फर्किने नेपाली कामदारलाई त्यहाँ व्यवस्थापन गर्न सहज हुनेछ । महामारी बढेको बेला फर्किनेलाई केही दिन होल्डिङ सेन्टरमा राखेर घर पठाएमा परिवार, समाजमा कोरोना सङ्क्रमणको त्रास नरहने बताइएको छ । पछिल्लो समय ओमिक्रोनको त्रास बढेको छ । भारतमा ओमिक्रनको संक्रमण बढ्दै गएको छ ।