जिल्ला कारागार दार्चुलाको निरीक्षण
2022/01/05, 5:16
 
news

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार दार्चुलाको निरीक्षण गरेकी छिन् । प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने उद्देश्यअन्तर्गत जिल्ला कारागारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताईन् ।

अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नुपरेको उनले बताईन् । उनले कारागारभित्रका कैदीबन्दीका आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दार्चुलालाई रु चार लाख बजेट विनियोजन गरेको जानकारी दिईन् । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो ।

यस्तै, चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि आठ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कारागारका जेलर वीरेन्द्र सिंह धामीले जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताए । अहिले २५ पुरुष र १५ महिलाको क्षमता रहेको कारागारमा ६९ जना कैदीबन्दी रहेका छन् । कारागारमा अहिले दुई महिला र ६७ पुरुष रहेका छन् । एकजना नाबालकसमेत छन्। 

विसं २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको जेलर धामीले बताए । जिल्ला भ्रमणमा रहेकी  मन्त्री जोशीले जिल्लास्थित कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया गरेकी हुन् । 

May be an image of 8 people, people sitting, people standing and indoor