नेपालगन्जमा एयरक्राफ्ट म्युजियम शनिवारबाट सञ्चालनमा आयो
2022/01/15, 3:38
 
dd

धनगढीबाट नेपालगन्जमा सारिएको  वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट सञ्चालनमा आएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको सो वायुयान संग्रहालय आज शनिवारबाट नेपालगन्जमा सञ्चालनमा आएको  म्युजियमका परिकल्पनाकार एवम् सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए ।

धनगढीमा जग्गा अभावकै कारण बाहिर गएको सो संग्रहालय नेपालगन्जबाट सेवा दिन लागेको हो  । अहिले सो वायुयान संग्रहालयलाई नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुरमा राखिएको छ । उक्त वायुयान संग्रहालय विशेषत विद्यार्थीहरुका लागि अध्ययन स्थल बन्ने क्याप्टेन उप्रेतीको विश्वास छ ।

डेढ करोड लागतमा यसअघि धनगढीमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको म्युजिएम नेपालगन्ज ल्याएर तयारी अवस्थामा पुुर्याउन झण्डै ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो ।

वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन् ।

म्युजियम भित्र २ सय ५० बढी जहाजका नमूनादेखि आकाशबाट खिचिएका कयौं तस्वीरहरु राखिएका छन् । उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।