सुदूरपश्चिममा एकैदिन २३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६१७ जना पुग्यो
2020/06/18, 4:50
 
korona

सुदूरपश्चिममा एकै दिन २३८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालामा २४ जना र बाकेंमा गरिएको परीक्षणमा एक जना गरी थप दुई सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ६१७ पुगेको छ । 

धनगढी प्रयोगशालमा भएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हा । कञ्चनपुरका २०, कैलालीका तीन र अछामका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

यसअघि विहीवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको थियो । यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन ।