ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ
2022/01/19, 12:27
 
aa

ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–३ का अध्यक्ष रामचरण थारू ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार एक पत्रकार सम्मेलन गरी प्रहरीले उहाँलाई सार्वजनिक गरेको हो ।

अन्य तीन जनासँग बसेर सेवन गरिरहेका वडाध्यक्ष थारूलाई रंगेहात पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी रवीन्द्र घिमिरेले बताउनुभयो । वडाध्यक्ष थारूले ब्राउन सुगर सेवन गर्छन् भन्ने पत्ता लगाएको प्रहरीले केही दिनदेखि पिछा गरिरहेको थियो । उहाँलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा लागूऔषधसहित ८८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ लाख ११ हजार रुपियाँ बरामद भएको छ ।

प्रहरीले यो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, ४ किलो ३ सय ७५ ग्राम चरेस, ३ हजार ५ सय ४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाजा, १ हजार ४ सय ३० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ ।

समामा १ सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुन बरामद गरिएको छ । २० लाख बराबरको बोइलर कुखुरा, चल्ला, मासु, माछासहित ७ जनालाई पक्राउ गरिएको छ । तीनवटा बाघको छाला, एउटा रेडपाण्डाको छाला, चारवटा भालुको पित्त, दुईवटा हात्तीको दाँतसहित १० जनालाई पक्राउ गरिएको छ । ११ गोलिया काठसहित तीन जना, कटुवा पेस्तोलसहित तीन जना, एयरपेस्तोलसहित एक जना, भरुवा बन्दुक एक थान, सोमा लाग्ने छर्रा तीनवटासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यो अवधिमा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रिपर, १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । वेश्यावृत्ति गर्ने, आगन्तुकलाई दुःख दिने १६ वटा होटल रेस्टुरेन्टमाथि आवश्यक छानबिन, ट्राफिक नियमित उल्लंघनमा २० हजार ५ सय ३५ सवारीसाधनलाई कारबाही, चोरी भएका ३ वटा स्कुटी, ११ वटा मोटरसाइकल बरामद गरी चोरीमा संलग्न १७ जनालाई कारबाही गरेको जनाएको छ ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलन पछि प्रहरीले ६ महिनामा बरामद गरेको लागूऔषध नस्ट गरिएको थियो ।