नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन्। सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिन थालेका हुन्।
कैलालीको भजनी, घोडाघोडी, पण्डौनमा रहेका सामुदायिक वन समितिसँग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ठूलो रकममा चन्दा माग गर्न थालेको हो । पार्टीका कार्यकर्ताहरुले लेटरप्याडमा आर्थिक सहयोग गरिदिन भन्दै पत्र दिन थालेका छन्। नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने,‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुई लाखमाथि दिन भनेर दबाब दिए। तोकेका चन्दा नदिएमा कारबाही गरिने भनेपछि हामीले बाध्य भएर रकम दियौँ।’ प्रायः सामुदायिक वन समितिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकै नाममा चेक काटेर दिएका छन्।
‘हामीलाई अडिट गर्न पनि सजिलो र कसलाई रकम दिएको हो भन्ने थाहा पाउनका लागि पार्टीका कार्यकर्ताकै नाममा चेक काटेका छौँ,’ अर्का एक अध्यक्षले भने,‘रकम दिए सामुदायिक वन उपभोक्तासामू जवाफ दिनुपर्ने, नदिए पदाधिकारीमाथि भौतिक कारबाही गर्ने धम्की खानुपर्ने हुन्छ।’ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई लाख, सयपत्री सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट २ लाख ५० हजार, जनज्योति र सोनिया सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट १ लाख २० हजार, घोडताल सामुदायिक उपभोक्ता समूह भजनी–९ पचमुडियाबाट ५० हजार रुपैयाँ चन्दा भन्दै रकम असुलेको हो।
यस्तै साडेपानी सव डिभिजनअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहलाई २० हजार रुपैयाँभन्दामाथि रकम चन्दा तोकेरै असुल्न थालेका छन्। विप्लव कार्यर्ताहरुले पण्डौन सव डिभिजन कार्यालयमा पनि सोही अनुसार रकम असुल्न थालेको एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले बताए।
सुदूरपश्चिम प्रदेश अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य हर्क कुँवरसहितको टोलीले सामुदायिक वनमा भएको अनियमितताबारे अनुगमनमा गएका बेला महिनौदेखि चन्दा आतंक सहेर बसेका सो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले विप्लवको चन्दाबाट आफूहरु आजित बनेको बताएका थिए। उनीहरुले विप्लव नेतृत्वको पार्टीले आफूहरुलाई महिनौदेखि तोकिएको चन्दा नदिए धम्की दिने गरेका कारण यहाँका अधिकांश सामुदायिक वनले चन्दा दिएको बताएका थिए।
उपभोक्तासामू अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य कुँवरले चन्दाका नाममा उपभोक्ताहरुलाई सताउने जो कोही पार्टी तथा व्यक्तिलाई कारबाही गरिने बताए। ‘हामी अब यसको खोजी गर्छौ,’ उनले भने,‘यसरी उपभोक्तालाई धम्की दिँदै चन्दा असुल्न गलत कार्य हो, त्यस्तालाई कानुनी दायरामा ल्याउँछौँ।’
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुलप्रसाद रिजालले यहाँका केही सामुदायिक वनमा विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले चन्दा असुलेको स्वीकारे। उनले भने,‘सामुदायिक वनबाट अस्वभाविक किसिमले चन्दा असुलेको थाहा पाएपछि सामुदायिक वनलाई के कति पैसा के कारणले दिइएको हो, कारणसहित उपस्थित हुन पत्राचार गर्ने तयारी गरेका छौँ।’ उनले यसरी अस्वभाविक चन्दा सामुदायिक वनले दिन नहुने उनले बताए।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली सचिव दिपेन्द्र चलाउनेले पार्टी चलाउन सानोतिनो रकम सहयोगस्वरुप माग गर्दा स्वइच्छाले दिने कुरा अलग भएपनि चर्को रकम चन्दा माग नगरिएको उनले बताए। उनले भने,‘हामीले ठूलो रकम चन्दा माग कहिँ कतैबाट गरेका छैनौ, यति समूदायलाई असर पर्नेगरी ठूलो रकम कसैले माग गरेमा फिर्ता गर्न लगाउने छौँ।’
उनले ठूलो रकम चन्दा नमाग्न पनि आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताए। ‘हामीले ठूलो रकम चन्दास्वरुप माग नगर्न निर्देशन दिएका छौँ,’ उनले भने,‘कुनै ठाउँमा आफ्नो पार्टीको बदनाम गर्न कोही फटाहा मानिसहरुले पनि त्यसो गरेको हुनसक्छ, हाम्रो कार्यकर्ताले कतै मागेको छ कि भनेर बुझ्दैछु।’
नागरिक बाट