दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता
2022/02/01, 5:20
 
ss

दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत र नेपालबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदानमा महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने गरी पुल निर्माण हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूताबासले उल्लेख गरेको छ । यसका साथै दूतावासले उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको पनि जनाएको छ ।

पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनुका साथै मालसमान ढुवानीमा पनि सहज हुने आशा गरिएको छ ।