सुदूरपश्चिमका अधिकांश कोरोना संक्रमितहरु क्वारेन्टिन र घरमा
2020/06/19, 8:52
 
korona

सुदूरपश्चिम प्रदेशमा बिहिवार मात्रै दुई सय ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या छ सय १७ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीमा एक सय ४९ जना, डडेल्धुरामा एक सय २३, कञ्चनपुरमा ९५, अछामका ६७, बाजुराका ६२, बैतडीमा ५२, डोटीका ४२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना घर फर्किसकेका छन् । घर फर्किसकेका एक सय ११ जनामध्ये सबैमा कोरोना निको भने हुन सकेको छैन । उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै विभिन्न अस्पतालहरुले घर पठाएका हुन् । बाँकी संक्रमितको नौँ वटै जिल्लामा रहेका स्थानीय तहको आइसोलेसनमा उपचार भईरहेकोे छ ।

छ सय १७ जना संक्रमित मध्ये एक सय १९ जनाको नौँ अस्पतालमा उपचार भईरहेको छ भने एक सय ११ जना डिस्चार्ज भईसकेका छन् । बाँकी तीन सय ८२ जना संक्रमित घर र क्वारेन्टिनमा रहेका छन् । तीन सय ८२ जनामा अधिकासं घरमै छन् भने केहीलाई क्वारेन्टिनमा राखिएको छ । स्थानीय तहहरुले कोरोना रिपोर्ट नआउँदै धमाधम क्वारेन्टिनबाट घर पठाउन थालेपछि समुदायस्तरमा संक्रमण फैलिने खतरा समेत बढेको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा प्रदेशका ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भईरहेको जानकारी दिए ।

महाकाली अस्पताल ३५, टीकापुर अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटीा तीन, बाजुरा अस्पताल र महाकाली अस्पतालमा दुई दुई र जिल्ला अस्पताल बझाङमा एक जना संक्रमित गरी नौँ वटा अस्पतालमा एक सय १९ जनाको उपचार भईरहेको छ ।