कैलालीमा समाजवादीले मानेन प्रशासनको आदेश, अत्तरियामा कार्यकर्ता भेला
2022/02/02, 4:04
 
dd

कोरोना भाइरसको जोखिम बढेको भन्दै गत पुस २५ गते जिल्ला प्रशासन कैलालीले सार्वजनिक स्थलमा भिडभाड गर्न बन्देज गरेको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आदेश नै जारी गर्दै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम तथा कुनैपनि राजनीतिक दलले कार्यक्रम गर्न नपाउने जानकारी दिएका थिए। त्यसको केही समयपछि यहि माघ ७ गते उक्त आदेशलाई थप कडाइका साथ पालना गर्न प्रशासनले अर्को आदेश जारी गरेको थियो।

तर, यी दुवै आदेशको धज्जी उडाउँदै बुधबार कैलालीमा नेकपा एकीकृत समाजवादीले वडा भेला गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा भेला गरिएको हो। भेला अहिले पनि जारी रहेको बताइएको छ। जहाँ २५ जनाभन्दा बढीको सहभागीता रहेको छ। तर सहभागी नेता तथा कार्यकर्ताले भने स्वास्थ्यका मापदण्ड अपनाएर भेला गरिरहेको जनाएका छन्। 

भेलामा सुदूरपश्चिम सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री तथा समाजवादी पार्टीकी नेतृ चुनकुमारी चौधरी, गोदावरीकी उपमेयर तथा समाजवादी पार्टीकी नेतृ रत्ना कडायत लगायतका नेता तथा कार्यकर्ता सहभागी छन्। कैलाली प्रशासनले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने सोही आदेशमा बताइएको थियो संक्रमित बढेपछि प्रशासनले आदेश जारी गरेसँगै जिल्लाका शैक्षिक संस्था बन्द अवस्थामा छन्। तर सरकारमै रहेको पार्टी समाजवादीले नै प्रशासनको आदेश अवज्ञा गर्दा त्यसले समाजमा नराम्रो सन्देश जाने स्थानीय बताउँछन्।