कर्मचारीमा कोरोनापछि ठप्प सुदूरपश्चिमका सरकारी कार्यालयको कामकाज सुचारु
2022/02/04, 2:51
 
11

कर्मचारीमा कोरोना सङ्क्रमणपछि ठप्प भएका सुदूरपश्चिमका सरकारी कार्यालयको कामकाज सुचारु भएको छ । संक्रमित कर्मचारीहरु कोरोना सङ्क्रमणमुक्त भएर कार्यालयमा फर्केपछि सेवा प्रदायक सरकारी कार्यालयको कामकाज सुचारु भएको हो । एक हप्तासम्म बन्द रहेका सरकारी कार्यालयहरुले सेवाग्राहीलाई सेवा दिन थालेका छन् । गएको माघ दोस्रो सातातिर कर्मचारीहरु सङ्क्रमित भएपछि यो प्रदेशका एक दर्जभन्दा बढी सरकारी कार्यालयको अत्यावश्यकबाहेक अरु कामकाज रोकिएको थियो । केही कार्यालय बन्द नै भएका थिए । तर, कोरोना सङ्क्रमण घटेको र कर्मचारीपनि कोरोना जितेर नियमित कामकाजमा फर्किएपछि सेवा सुचारु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले माघ १५ गतेदेखि नै वैकल्पिक विधिबाट सेवा सुचारु गरिसकेको सो कार्यालका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘कर्मचारीहरु संक्रमणमुक्त भएर काममा फर्किएपछि टोकन प्रणालीका आधारमा सबै सेवा उपलब्ध गराइरहेका छौं’, उनले भने । सो कार्यालयमा कार्यरत १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेबाट मुद्दा र शान्ति, सुरक्षा सम्बन्धी कामबाहेक अरु सबै सेवा स्थगित गरिएको थियो । अब स्वास्थ्यको मापदण्ड पूरा गरेर सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइरहेको जोशीले जनाए । उनले टोकनका आधारमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने जस्ता सेवा उपलब्ध गराइरहेको उल्लेख गरे । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि ठप्प सेवा सुचारु गरिसकेको छ । माघ १६ गतेबाट कार्यालयको सबै कामकाज नियमित भएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए । सो कार्यालयले माघ ८ गतेबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको थियो । ‘सङ्क्रमित कर्मचारी सङ्क्रमणमुक्त भइ काममा फर्किएपछि अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरेर कामकाज भइरहेको छ’, उनले भने । ‘सेवाग्राही सबैले मास्क लगाउनु पर्ने र खोप कार्ड देखाएर सेवा लिनु पर्ने कार्यलाई कार्यान्वयन गरिरहेका छौं ।’ 

केही दिन सेवा स्थगित भएका कारण नयाँ नागरिकता बनाउनेको बढी आउने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भीड कम गर्न बार अनुसार स्थानीय तहलाई सेवा उपलब्ध गराइरहेको बताए ।तेस्रो लहरको कोरोना सङ्क्रमणको क्रममा सबैभन्दा बढी स्थानीय तहमा कार्यरत कर्मचारी सङ्क्रमित भएका थिए । कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि कैलालीका पाँच, कञ्चनपुरका तीनसहित पहाडी जिल्लाका केही पालिकाहरुसमेत बन्द भएका थिए । कार्यालयबाटै कोरोना सङ्क्रमणको जोखिम बढेपछि एक हप्ताका लागि जनताका नजिकको सरकारको ढोका बन्द भएको थियो । तर, सङ्क्रमित कर्मचारीहरु सङ्क्रमणमुक्त भएर नियमित कामकाजमा फर्केपछि ठप्प कामकाज पुनः सुचारु भएको स्थानीय तहले जनाएका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिका बिहीबारबाट खुलेको छ । संक्रमित कर्मचारी निको भइ काममा फर्किएपछि नियमित कामकाज सुचारु भएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए । ‘जनताका धेरै काम छन्, धेरै दिनसम्म कार्यालय बन्द गर्न सकिन्न’, उनले भने । ‘पोजेटिभ भएका कर्मचारीहरु सङ्क्रमणमुक्त भएपछि नियमित कामकाज सुचारु भएको हो ।’ धनगढी उपहानगरपालिकाको विभिन्न शाखाका कार्यरत २२ कर्मचारी कोरोना सङ्क्रमित भएका थिए । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाले माघ १२ देखि १८ गतेसम्म अत्यावश्यकबाहेकका अरु सेवा स्थगित गरेका थिए । १९ गते नेपाल सरकारले सार्वजिक बिदा दिएपछि २० गतेबाट कार्यालय नियमित रुपमा खुलेको भजनी नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताए । ‘कर्मचारीहरु निको भएर काममा फर्किसक्नु भएको छ’, उनले भने । ‘कार्यालयको सबै कामकाज नियमित भएको छ ।’ 

गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका र जोशीपुर गाउँपालिकाले यसअघि नै सेवा सुचारु गरिसकेका थिए । १८ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बन्द भएको गोदावरी नगरपालिका माघ १६ गतेबाट खुलेको सूचना अधिकारी शिवराज भाटले जनाए । उनले सङ्क्रमित सबै कर्मचारी निको भएर काममा फर्किसकेको उल्लेख गरे ।त्यस्तै, जनप्रतिनिधि र कर्मचारीमा सङ्क्रमण भएपछि गौरीगङ्गा नगरपालिकाले अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि सेवा स्थगन गरेको थियो । अब उपलब्ध कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको सो नगरपालिकाका सूचना अधिकारी जयन्द्र ठकुल्लाले बताए । ‘जो–जो सङ्क्रमणमुक्त हुनु भएको छ, उहाँहरु कार्यालयमा आइरहनु भएको छ’, उनले भने । 

जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका सेवा एक हप्तासम्म ठप्प भएपछि सेवाग्राहीलाई समस्या भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्दै गएकाले अब सरकारी कार्यालयको कामकाजमा बाधा उत्पन्न नहुने बताइएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले अब सेवा स्थगित नहुने बताए । सो मन्त्रालयको केही कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अत्यावश्यकबाहेक अरु काम स्थगित गरिएको थियो । अब कर्मचारीहरु आउन थालेको र साधारण काम पनि नियमित भएको सूचना अधिकारी सिंहले बताए । ‘अत्यावश्यक काम त कहिल्यै रोकिएन’, उनले भने । ‘अब जनरल कामपनि सुचारु भइसकेको छ ।’