थातथलोबाट पलायन हुँदै धर्तीपुत्र रानाथारु
2022/02/09, 11:29
 
da

सुदूरपश्चिम प्रदेशको तराईमा बसोबास गर्ने धर्तीपुत्र रानाथारु आफ्नो थातथलोबाट पलायन हुन थालेका छन् । उनीहरुको थातथलोमा बढ्दो बसाइँसराइँ, सामाजिक असुरक्षा लगायतका कारणले धर्तीपुत्र रानाथारु आफ्नो थातथलोबाट पलायन हुन थालेका हुन । त्यसैमाध्येका एक, हुन भुयां राना

। उनी, अहिले मुक्तकमैंया शिविरमा छन । उनीसंग ७० बिघा जग्गा थियो । उनको बुबा डिठ्ठा रानाको समयमा त एक सय बिघा बढी जग्गा भएको सम्झना भुयांलाई अहिले पनि छ । गाउंँमा हुने हरेक निर्णय उनकै घरमा कचहरी बसेर हुन्थ्यो । बाजेको ठूलो मानइज्जत थियो । बुबाका दिनमा संग भएको ७० बिघा जमिन सकिन ३० वर्षपनि लागेन । पहाडबाट तराई बसाइँसराइँ हुने क्रमसंगै भुयांको जमिनपनि सकिदै गयो । बाँकी रहेको जग्गा आरक्षमा परेपछि उनी २० वर्षदेखि मुक्त कमैंया शिविरमापुगेका छन । कंचनपुरको अर्जुनीब्यारेकसंगै जाडिएको उनको जग्गामा भएका आपंका रुख अहिले पनि छन ।

अढाइ दशक अघि गाउँभरि ९० परिवारभन्दा बढी रानाथारु भएको कैलालीको मालाखेतीमा अहिले गिन्तीका चार परिवार छन् । ९० परिवारसंग चार सय बिघाभन्दा बढीजमिन थियो । बाँचेका चार परिवारसंग अहिले पुग नपुग तीन बिघा पनि छैन । भएका पनि दीनहीन स्थितिमा छन् । धनगढी उपमहानगरसंग जोडिएको गेटामा मालाखेतीभन्दा पनि निकै बढी रानाथारु परिवारको संख्या थियो । साविकको गेटा गाविसमा झण्डै पाँच सय परिवार राना थिए । २५ पर्षपछि उनीहरुको संख्या एक सय परिवार पनि छैन् । 

कैलाली, कंचनपुरमामात्र रहेका आदिवासी रानाथारुको अर्जूनी, मालोखेती र गेटका अवस्था उदाहरण मात्र हुन । यसरी आदिवासी रानाथारुको खोजी गर्ने हो भने तीन दशक अघिका ठूलठूला राना वस्तीहरुमा अहिले समुदायको एउटा परिवार पनि भेटिदैन । बेग्लै भाषा, बेग्लै संस्कृति, छुट्टै लिपि र रहनसहन भएका रानाथारुले थातथलो छोडेर पलायन हुन थालेको तीान दशक बिति सकेको छ । सोझो जाति, अरु समुदायसंग बस्न नरुचाउने, गाइभैंसी पाल्ने, जंगल बढी चाहिने, ठूलठूला संयुक्त परिवारमा बस्ने यो समुदाय मुख्य रुपमा सामाजिक असुरक्षाका कारण पलायन हुंदै गएको देखिएको छ ।

कैलालीको बसन्ता देखि पलियासम्मको पुरै क्षेत्र राना समुदायको बसोबास थियो तर पछिल्लो समय त्यो क्षेत्रका एक परिवार पनि छैन । यसै गरि कैलालीकै श्रीपुर, गेटी, टीकापुरका अधिकांस क्षेत्र, सदरमुकाम आसपासका सबै गाउंँ घना राना वस्तीमा पनि निकै कम संख्यामा रानाहरु रहेका छन । कंचनपुर त पुरै जिल्लामा राना वस्ती हो । तर, अहिले सीमित देखतभूली, शंकरपुर, श्रीपुर, वाइसे बिचवा र दैजीका केही गाउँंमामात्र राना वस्ती भेटाउन सकिन्छ । कृष्णपुर, झलारी, पिपलाडी, दैजीको केहीगाउं, राजमार्गसंग जोडिएका सबै राना वस्ती बिस्थापित भइसकेका छन । कैलाली र कंचनपुरमा रहेका परिवारको आधाभन्दा बढी पलायन भएको देख्न सकिन्छ ।

‘यो क्रम निरन्तर चलि रहेको छ’ स्वास्थ्यकर्मी दशरथ राना भन्छन ‘बांके, बर्दिया कैलाली र कंचनपुर भूगोलसहित नेपालमा मिसिन आएका रानाथारुहरु विस्तारै लोप हुने अवस्थामा पुग्न थालेका छन । बांँके, बर्दियामा त कहिं कहिं अर्को समुदायमा मिसिसकेका छन् । थर मात्र राना लेख्ने भेटिन्छन्’, उनले भने,‘पलायन न रोक्ने हो भने कैलाली, कंचनपुरमा रहेका रानाहरुको अवस्था पनि त्यस्तै नहोला भन्न सकिदैन ।’कंचनपुर, कैलालीको कुल भुगोलको आधाभन्दा बढी क्षेत्रफलमा रहेका रानाहरु प्छिल्लो समय बिस्थापित हुंदै जांदा एक तिहाइ पनि बांकी रहेनन ।

रानाथारु विकास समाजका अनुसार अहिले पनि तीव्र रुपमा पलायन जारी रहेको छ । मालाखेतीका वृद्ध वाजु राना भन्छन् ‘पहाडी समुदायका मान्छेको बसाइँसराइँ बढ्दै जांदा रानाथारु पलायन भएका हुन् ।’ विस्तारै विस्तारै विभिन्न बहानामा रानाथारु माथि दमन गर्ने, जग्गा कब्जागर्ने, विभिन्न बहानामा मुद्दा लगाउन थालेपछि पलायन हुने क्रम बढेको हो ।’ ४० वर्ष अघि बनेका तमसुकका भरमा १० वर्ष अघिसम्म राना समुदायको जग्गा अरुको नाममा नाम सारी भइरहेको थियो बाजुले भने ‘अहिले पनि पुरानो पूर्जा बोकेर आफ्नो जग्गा खोज्ने धेरै छन ।’ मिलोमतोमा थाहै नदिइकन धेरै जसो रानाथारुको जग्गा अरुको नाममा नामसारी भएका धेरै घटना भएको उनले बताए । 

५० वर्षदेखि कैलालीको मालाखेतीमा बसोवास गर्दै आएका समाजसेवी रामचन्द्र अवस्थीपनि रानाथारुहको पलायन हुनुमा सामाजिक असुरक्षा पहिलो विषय भएको बताउंछन । अवस्थीले भने ‘जालझेल गरेर रानाथारुको जग्गा नामसारी गर्ने क्रम रोकिएको १० वर्ष पनि भएको छैन ।’ अब त उनीहरुसंग जग्गा नै बांकी रहेन उनले भने,‘रानाथारु समुदायमा शिक्षित मान्छे पनिऔंलामा गन्न सकिनेमात्र छन् ।’ पछिल्लो पुस्तामा पनि शिक्षाको विकास हुन सकेको देखिदैन । ‘अब सभा समारोहको शोभा बढाउन मात्र रानाथारु संस्कृतिको प्रदर्शन हुने गरेको छ ।’

पंचायत कालमा रानाथारुहको जग्गा नामसारी गर्दा अञ्चलाधिशको अनुमति लिएर मात्रगर्ने व्यवस्था थियो, तर पछि आएर त्यो व्यवस्था हटेपछि रानाथारुको पलायन पनि बढ्दै गएको देखिएको अवस्थीले बताए  ।
अहिले रानाथारु पलायन भएर सीमावर्ती भारतीय क्षेत्रका सेडा, बेडा, वनकट्टी, सौनाहा, भरडी, चन्दनचौकी, रामगढ, वनगाइ, खटीमा, लखिमीपुर खिरी लगायतका क्षेत्रमा पुगेका छन । भारतमा उनीहरुको आरक्षण, संरक्षणका कार्यक्रम, खेती किसानी गर्ने वातावरण, सहुलियत ऋण, छोरा छोरीको शिक्षा निशुल्क, स्थास्थ्यउपचार निशुल्क जस्ता थुप्रै सुविधा दिइएका कारण नेपालमा सामाजिक सुरक्षा समेत पाउन नसकेका सबै उतै लाग्ने गरेका समुदायका अगुवाहरु बताउँंछन । 

कति छन् त रानाथारु ? 

राज्यका कुनैपनि निकायसंग यस्को तथ्यांक छैन् । नेपाल रानाथारु समाजका पूर्व अध्यक्ष जीवन राना भन्छिन् ‘०६८ को जनगणनामा रानाथारुको छुट्टै तथ्यांक निकाल्न ठूलो लडाईं लडेर पनि सकिएन ।’ यस पटक छुट्टै गणना त भयो तर यकिन तथ्यांकआउने गरि हुन नसकेको उनले बताइन ।

रानाथारुको संस्कृतिका विषयमा विद्या वारिधी गरिहेकी जीवन रानाले आफ्नो समुदायको पलायन रोक्न सरकारले कुनै चासो नराखेको गुनासो पनि गरिन । उनले भनिन–‘थारु समुदायको राजनीतिका कारण रानाथारुको पहिचानमाथि नै ठूलो संकट आएको छ । हामी र डंगौरा थारुबीच सांस्कृतिक, भाषिक र ऐतिहासिक रुपमाकुनै कुरा मिल्दैन् तर राज्यले यो कुरा सुनिदिएको छैन् । अहिलेसम्म उनीहरुंगै राखेर हेर्ने गरेकाले हाम्रो संस्कृतिको रक्षा हुन सकेन’, उनले भनिन । 

यस अघि कैलाली, कंचनपुरमा पाँच लाख बढी रानाथारुको संख्या रहेको रानाथारु समाजले जनाउंदै आएको थियो । यस पटकको गणनामा धेरै जसोले चेतना नभएका कारण थारु समुदायमा नै आफ्नो परिवार सुचिकृत गरेका कारण यकिन तथ्यांक आउनेमा अगुवाहरु विश्वस्त छैनन ।

राज्यले निश्चित समयकालागि स्नातकसम्म निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्योपचार, सरकारी जािगरमा आरक्षण र संस्कृतिको विकासका लागि आवश्यक काम गरि दिए यो समुदायको संरक्षण हुन सक्ने अगुवा जीवन रानाको भनाइ छ ।