हिउँले छोपियो खप्तड
2022/02/10, 3:32
 
aa

‘खप्तड स्वर्ग जस्तो हैन, स्वर्ग नै हो’ दार्चुलाका फोटोग्राफर हिमालय भट्टले हिउँको घुम्टोभित्र छोपिएको खप्तडको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस हो यो । पुस महिनादेखि नै लगातार भइरहेको हिमपातका कारण सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडका पाटन हिउँले पुरिएपछि खप्तडमा हिउँ खेल्न जानेहरुले यसरी नै सामाजिक सञ्जालमा भ्रमण अनुभव सेयर गर्ने गरेका छन् ।

बिहीबारदेखि भएको भारी हिमपातले अहिले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा सबैतिर पाँच फिटसम्म हिउँ जमेको छ । हिउँ परेसँगै प्रायजसो हिउँद याममा सुनसान हुने खप्तडमा यो वर्ष भने पर्यटकहरुको चहलपहल पनि बढेको छ । एक हप्ताभन्दा बढी समय हिउँले छोपिएको खप्तडमा बिताएका भट्टले हिउँ परेको समयमा खप्तडको भ्रमण गर्न पाउँदा आफू रोमाञ्चित भएको बताए । ‘अहिले खप्तड यति सुन्दर भएको छ कि त्यसको बयानै गर्न सकिँदैन,’ उनले भने ।

खप्तड हिउँले ढाकेको बेला निकै नै सुन्दर देखिने गरेको र यही सुन्दरता हेर्नका लागि चिसो खपेरै पनि यो वर्ष खप्तड पुग्ने पर्यटकहरु पनि बढेको डोटीको झिग्रानाका होमस्टे व्यवसायी तथा पर्यटन अभियन्ता दिपक खड्काले जानकारी दिए । ‘यो वर्ष नेपाली मात्रै होइन । पाँच जना विदेशी पर्यटकहरु पनि हिउँ परेको समयमा खप्तड घुम्न गएका छन्,’ उनले भने ‘पहिला हिउँ पर्दा एक जना पनि जाँदैनथे । यो वर्ष नेपालीहरु पनि थुप्रै आउन थालेका छन्,’ अमेरीका, फ्रान्स र स्कटल्याण्डका नागरिकले यो हिउँदमा खप्तड भ्रमण गरेको बताए । पर्याप्त पर्यटकिय सम्भावना भएपनि खप्तडमा विदेशी पर्यटकहरु कमै मात्र पुग्ने गरेका छन् ।

‘पाटनहरु जता हेर्‍यो तेतै सेताम्मे भएका भएका छन्,’ खप्तड राष्ट्रिय निकुञ्ज भित्र होटल सञ्चालन गरिरहेका बाजुराका लोक रावलले भने, ‘सिंगै खप्तड हिउँको सिरक ओढाएजस्तो देखिएको छ । चिसो बढेपनि यहाँको दृश्य हेर्नलायक भएको छ,’ उनले खप्तडमा हिउँ परेको हेर्नका लागि गत वर्षभन्दा यो वर्ष धेरै मानिस आएको र बास अवधि पनि लामो भएको बताए । ‘अरुबेला धेरै जसो पर्यटक एक दुई रात बस्ने गरी आउँथे । यो हिउँदमा भने हप्ता १० दिन नबसी कोही फर्केका छैनन,’ उनले भने । खप्तडको त्रिवेणी क्षेत्र, सह्रसलिंग, खप्तडताल, घाडादाउना पाटन, डाँफेकोटतिर पर्यटकहरु बढी रमाएको र खप्तडको समानान्तर देखिने हिम श्रृङ्खलाको फोटो खिच्नका लागि उपयुक्त मौसमको पर्खाइमा पर्यटकहरु बढी बस्ने गरेको उनले बताए ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले पछिल्लो समय बाह्रै महिना पर्यटकहरु भित्र्याउनका लागि देशभित्र र बाहिर प्रचार प्रसारको काम सुरु गरेको र खप्तड घुम्न आएकाहरुबाट प्रभावित भएर पनि यहाँ घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिम खड्काले बताए । ‘यहाँ आएका विदेशीहरुले पनि खप्तडको भ्रमण रोचक रहेको अनुभव सुनाउने गरेका छन्,’ उनले भने ‘आगामी दिनमा तेस्रो मुलकका पर्यटक बढाउने खालका थप कार्यक्रमहरु पनि सञ्चालन गर्ने सोच बनाएका छौं ।’ उनले खप्तड आउने पर्यटकका लागि सुविधालाई लक्षित गरेर समितिले विभिन्न कार्यक्रमहरु तय गरेको बताए ।

वन्यजन्तु जोखिममा

यता संरक्षित वन्यजन्तुको रेखदेखका लागि बनाइएका सम्पूर्ण मार्ग हिउँका कारण अवरुद्ध भएकाले वन्यजन्तुमाथि जोखिम बढेको छ । खप्तडमा बाक्लो हिमपात भएसँगै वन्यजन्तु मध्यवर्ती क्षेत्रका बस्तीहरुसम्मै पुग्ने हुँदा स्थानीयले सिकार गरेर मार्ने गरेका छन् । खप्तडमा अहिले दिउँसोको तापक्रम २/३ डिग्री सेल्सीयससम्म हुने राति तापक्रम घटेर माईनस १२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । बाक्लो हिमपात र निरन्तर घटिरहेको तापक्रमका कारण वन्यजन्तुहरु बेसी तिरका घमाइलो ठाउँतिर जाने र मानव बस्ती नजिक पुग्दा उनीहरुमाथि खतरा हुने संरक्षणकर्मीहरुको भनाइ छ । ‘हिउँपग्ले पछि कतिपय जनावरहरु निकुञ्जभित्रै मरेको अवस्थामा पनि भेटिने गरेका छन्,’ बाजुराका जगत रावले भने, ‘गाउँ नजिक आएका वन्यजन्तुको चोरी सिकार हुने भएकोले जोखिम निकै बढेको छ ।’

मानिस र वन्यजन्तु नजिक हुँदा एकातिर हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुने र अर्काेतिर चोरी सिकारका कारण वन्यजन्तुलाई खतरा हुने गरेको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका सदस्य हिरेन्द्र रावल बताउँछन् । उनी भन्छन्, ‘पाटनतिर बाक्लो हिउँ जमेपछि वन्यजन्तुहरु हिउँ नभएको ठाउँ (बस्ती नजिक) तिर झर्छन् । चोरीसिकार गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो ।’

खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका बझाङ, बाजुरा, डोटी, र अछाम जिल्लाका अधिकांश गाउँहरुमा ऐह्रा (हिउँपरेको बेला गाउँलेहरु मिलेर सामूहिक सिकार खेल्ने प्रचलन) खेल्ने चलन अहिले पनि कायमै रहेका कारण वन्यजन्तुका लागि हिमपातको समय जोखिमपूर्ण हुने गरेको हो ।

बाक्लो हिउँका कारण निकुञ्ज भित्ररहेका वन्यजन्तु विचरण गर्ने सबै मार्गहरु अवरुद्ध भएका छन् । बाटोहरु खोल्नका लागी खप्तडस्थित नेपाली सेनाको टोली सक्रिय रहेको धेरै बाक्लो हिउँ परेको र चिसो बढेकाले बाटो खोल्न कठिनाइ भइरहेको खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुनिल बोहराले बताए । खप्तडको बीच भागमा पर्ने त्रिवेणीसम्म सेनाले बाटो बनाएको भए पनि अन्त सम्भव नभएकोले जोखिम झन् बढेको उनको भनाइ छ ।

‘चिसोले लट्ठिएका, खान नपाएर कमजोर बनेको वन्यजन्तुहरु सिकारीको निसानामा सजिलै पर्ने गरेका छन्,’ बोहराले भने, ‘सिकारीहरु सिकार खेल्नका लागि यस्तै मौसम कुरेर बसेका हुन्छन्,’ वन्यजन्तु संरक्षणको लागि खप्तडस्थित नेपाली सेना र निकुञ्ज कार्यालयले काम गरिरहेको भए पनि संरक्षणमा मध्यवर्ती क्षेत्रका जनता पनि जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ, ‘यस्तो बेलामा निकुञ्जले चाहेर मात्र संरक्षण सम्भव हुँदैन,’ उनले भने, ‘यसका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा पनि सचेत हुनुपर्छ ।’ उनले हिउँका कारण निकुञ्जमा रहेका सुरक्षाकर्मीहरु र कर्मचारीहरुको गस्ती घटेको अवसर पारेर वन्यजन्तुको सिकार हुने जोखिम निकै बढेको बताए । वन्यजन्तुबाट असर परेका समुदायलाई क्षतिपूर्तिको व्यवस्था समेत रहेकोले देख्ना साथ मार्नु पर्छ भन्ने मान्यता हटाउन जरुरी रहेको उनले बताए ।

डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्लामा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा मध्यवर्ती क्षेत्र समिति गठन गरिएको र सबैले सक्रिय रुपमा वन्यजन्तु संरक्षणको पहल गर्न सके चोरीसिकार रोक्न सकिने उनको धारणा छ ।

मध्यपहाडी क्षेत्रमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज जैविक तथा पर्यावरणीय विविधताका दृष्टिकोणले नेपालकै नमुना क्षेत्रमा पर्दछ । वागमती प्रदेशमा रहेको शिवपुरी नार्गाजुन र सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज मात्रै नेपालको मध्यपहाडी क्षेत्रका संरक्षित क्षेत्र हुन् । खप्तडमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मुनालको बासस्थान छ । यसबाहेक ३ सयभन्दा बढी प्रजातीका चरा खप्तडमा पाइन्छन् । यस्तै स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वाँसे चितुवा र ब्वाँसो पनि यहाँ पाइन्छन् ।

हिमाली कालो भालु, चितुवा, बँदेल, मृग, हरिणसहित ३० प्रजातिका अन्य स्तनधारी पनि पाइने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । केही अध्ययनहरुले रातो पाण्डा पनि खप्तडमा पाईने गरेको उल्लेख गरेका छन् । यस्तै ‘बझाङ्गी पा’ नामक दुर्लभ छेपारो र ‘खस्रे भ्यागुता’को खप्तड क्षेत्रमा मात्रै बसोबास रहेको संरक्षणकर्मीले जनाएका छन् ।