प्रधानसेनापति प्रभुराम शर्माले महेन्द्रनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। शर्माले शुक्रबार बिहान सेनाको श्री नं २५ बाहिनी नजिकै निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्।
फरक खालका सामानहरु प्रयोग गर्दा आर्थिक रुपमा प्रश्न उठन सक्ने बताउँदै उनले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रमुख गोकर्ण न्यौपानेले काम तोकिएको समयमै सम्पन्न हुने बताएका छन्।
महेन्द्रनगरको सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि, २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण भइरहेका छन्। उक्त निर्माणका लागि २९ करोड २५ लाखमा ठेक्का सम्झौता बताइएको छ।
प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायतले होल्डिङ सेन्टरको निरीक्षण गरेका थिए।