‘एक वडा, एक उत्पादन’ कार्यक्रमले किसान लाभान्वित
2022/02/11, 11:56
 
dd

कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन्। कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ।

तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका नौ वडामध्ये वडा नम्बर १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो।

“तरकारीखेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा अनुदानमा रकम सिधैँ खातामा उपलब्ध गराउने व्यवस्था मिलाएका थियौँ”, अधिकृत धामीले भने, “अनुदान रकमसँगै तरकारी खेतीका लागि तालिम दिने कार्य, माटो परीक्षण र आइपिएम पाठशाला सञ्चालन गरिएको थियो।”

त्यसबाट व्यावसायिक तरकारी खेतीमा संलग्न दुई दर्जन बढी समूहमा आवद्ध किसान लाभान्वित भएका छन्। किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरी आत्मनिर्भर भएको अधिकृत धामीले बताए। जैविक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने नीति लिएको छ।

चालु आवमा समेत सो कार्यक्रमअनुसार कम्तीमा समूहमा आवद्ध किसानले पाँच बिघा जग्गामा तरकारी खेती गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको छ। “कृषिलाई व्यावसायीकरण गरी किसानलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “बाली विविधिकरणसँगै बाँझो जग्गाको सदुपयोग गर्नका लागि सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै गएको छ।”

किसानलाई कार्यक्रमअनुसार मागका आधारमा अनुदान रकम उपलब्ध गराइँदै आएको छ। तरकारी खेतीका लागि प्रस्ताव पेश गरेका समूहलाई गत वर्ष तीन लाखका दरले अनुदान रकम उपलब्ध गराइएको थियो। चालु आवमा व्यावसायिक खेतीका लागि प्रतिसमूहलाई रु दुई लाखका दरले अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।