सुदूरपश्चिमको स्थायी राजधानीमै नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन्। प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकामा नागरिकहरु अन्धकारमै बस्न बाध्य भएका हुन्।
नगरपालिकाको वडा नम्वर ४ दामदरे फुलवस्तीका स्थानीयहरुले अन्धकारमै बस्नु परेको बताएका छन्। उनीहरुले वडा कार्यालयदेखि धनगढी विद्युत वितरण केन्द्रलाई विद्युत विस्तारका लागि माग गर्दै आएपनि कुनै सुनुवाई हुन नसकेको बताएका छन्। वडा कार्यालयलाई विद्युत विस्तारका लागि वडा कार्यालयलाई १४२ जना स्थानीयले लिखित रुपमै निवेदन दिएका थिए।
तीन सय घर परिवार रहेको सो गाउँका स्थानीयले दिएको निवेदनका आधारमा वडा कार्यालयले धनगढी विद्युत वितरण केन्द्रलाई विद्युतीकरणका लागि लेखि पठाएको भएपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन्। माघ २० गते कार्यवाहक वडा अध्यक्षको रुपमा बलबहादुर चौधरीले गाउँमा विद्युत विस्तार गर्न विद्युत वितरण केन्द्रलाई पत्र नै लेखेका थिए।
स्थानीयले लामो समयदेखि सिमलगैरा, शान्ति टोल, पट्टरेनी, अमलसैनी, काफलपानी लगायत स्थानमा विद्युत विस्तारका लागि वडा कार्यालय, नगरपालिका र विद्युत प्राधिकरण धाउँदा पनि कुनै काम नभएको स्थानीय लोकेन्द्र धामीले गुनासो गरे। ‘फुलवस्ती टोलमा विद्युतलाइन, आवश्यक पोल, ट्रान्समिटर जडानको माग गर्दै आएका छौँ, तर अहिलेसम्म कुनै काम हुन सकेको छैन,’ उनले भने।