कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने दुईवटा पुलको निर्माणकार्य धमाधम हुदैँ
2022/02/13, 11:01
 
dd

कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको हो ।

५५० मिटर लामो चिप्लेघाटको पुलको काम करिब ७० प्रतिशत र ३५० मिटर लामो कुइनेघाटको पुल करिब ९० प्रतिशत सकिएको छ । यी दुवै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छ ।

दुवै पुलको निर्माण व्यवसायी अनकरलुम्बिनी जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले तोकिएको अवधिभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको बताउनुभयो । पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिनेछ भने दूरी पनि घट्नेछ । अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ । पुल बन्दा चौकुनेदेखि चिसापानीको दूरी बढीमा ११ किमि हुनेछ ।

कुइनेघाट पुल २०७१/०७२ मा सम्झौता भई २०७६ मा सक्नुपर्ने थियो । साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोरोनाका कारण काममा पनि केही ढिलाइ भएको बताए । सो पुल ३२ करोडको लागतमा आगामी असारमा सक्नेगरी निर्माण भइरहेको छ । यस्तै, चिप्लेघाटको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो ।

२०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० करोड रहेको साइट इन्चार्ज श्रेष्ठले बताए । उनले दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने जिकिर गरे । अहिले ती ठाउँ पुग्न कि झोलुङ्गेपुल तर्नुपर्छ कि डुङ्गाबाट जानुपर्ने बाध्यता रहेको छ ।

दुवै पुल निर्माण भए दुवै प्रदेशको सिधा सम्पर्क बढ्नुका साथै व्यापार र विकासको ढोका खोल्नेमा त्यस क्षेत्रका बासिन्दा आशावादी छन् । सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँका रङ्गे कामीले चिप्लेघाटको पुल बनेपछि कैलाली चिसापानी जान निकै छोटो हुने बताए । उनले सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आएर सामान खरिद गर्नुभन्दा कैलालीको कर्णाली चिसापानी पुग्न छोटो हुने उल्लेख गरे ।

कैलालीको मोहन्याल गाउँपालिका–७ पारि कुइनेका कलौरा माझीलाई पनि कुइनेघाटको पुल बनिसकेपछि आउजाउ गर्न सहज हुने जनाए  । यता र उताका बासिन्दालाई कुइनेघाट र चिप्लेघाटको पुलले धेरै सजिलो बनाउने र विकास निर्माणको काम गर्न पनि सजिलो बनाउने उनको भनाइ छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ती पुल कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने विकासको ढोका भएको बताए ।