गाउँपालिका अध्यक्षकी छोरी र सूचना अधिकृत गरीबको सूचीमा
2022/02/15, 8:59
 
dd

दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी छोरी र ब्याँस गाउँपालिका सूचना प्रविधि अधिकृत गरिबको सूचीमा समेटिएका छन्।  काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष कार्कीकी २७ वर्षीया छोरी साबित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो।

सोही गाउँपालिकामा कराररको रुपमा उनी हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत छन् भने उनका श्रीमान प्रहरीमा रहेका छन्। साबित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो। तर उनको आर्थिक अवस्था भने त्यस्तो छैन।

यस विषयमा उनका बुवा समेत रहेका गाउँपालिका अध्यक्ष कार्कीले डाटा सँकलनको क्रममा सुपरिवेक्षक र गणकहरुका साथै छोरीले पनि त्रुटी गरेको भन्दै सो त्रुटी गाउँपालिका कार्यसमितिको बैठक बसी सच्याउने  जानकारी दिए। 

यस्तै दार्चुलाकै ब्याँस गाउँपालिकाका सूचना प्रविधि अधिकृत शिवराज बडू अति गरिबको सूचीमा रहेका छन्। परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा वडा नं ६ का बासिन्दा बडू अति गरिबमा परेका हुन्।

ब्याँस गाउँपालिका एक कर्मचारीका अनुसार अधिकृत बडूले आफ्नो नाम हटाउनका लागि निवेदन पेश गरिसकेको छन् ।