किन बढ्दैछ सुदूरपश्चिममा कोरोना सक्रमण
2020/06/19, 7:12
 
korona

कोरोना भाइरस सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित प्रदेशमा बढेर ६ सय ६५ पुगेको छ । प्रदेशमा पहिलो पटक गएको चैत्र १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । बैशाख महिना शुरु हुँदा पाँच जनामा पुगेको यो सङ्ख्या त्यस पछि झण्डै एक महिनासम्म स्थिर रह्यो ।

तर भारतवाट फर्किनेहरु बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर केही हप्ता देखि बढ्दै गएको छ । प्रदेशमा बीहिबार मात्र थप दुई सय ३८ जनामा कोरोना पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कैलालीमा एक सय ५३, डडेलधुरामा एक सय २२, कञ्चनपुरमा ९४, बाजुरामा ६१, अछाममा ५१ ,बैतडीमा ५२, डोटीमा ३८, बझाङमा १६, दार्चुलामा १२ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा सङ्क्रमित मध्ये ८१ जना निको भई घर फर्किसकेका छन् । यस्तै पिसिआरबाट सङ्कलित १४ हजार एक सय २८ को थ्रोट स्वाबको नमूना मध्ये नौ हजार नौ सय ५३ को जाँच हुँदा पाँच सय ९९ मा नमूना ‘पोजेटिभ‘ फेला परेका हुन् । यस वाहेक प्रदेशका शङ्कास्पद ४८ नमूनाको सुर्खेत प्रयोगशालमा भएको परीक्षणमा दश जनामा पोजेटिभ भएको पुष्टि भएको जनाइएको छ ।

प्रयोगशलामा सङ्कलित नमूनाको चाप बढ्दा चार हजार १७ को नतिजा आउन बाँकी छ । आरडिटीबाट ८२ हजार आठ सय ३७ नमूनाको जाँच भइसकेको छ । सामाजिक दूरी कायम नगरी बढ्न थालेको सर्वसाधारणको चहलपहलले रोगको सङ्क्रमण थप बढ्ने खतरा देखिएको स्थानीय पुष्पराज पाण्डेयले बताए ।

भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाइ व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा सङ्क्रमणको जोखिम थपिएको हो । सेती प्रादेशिक अस्पताल धनगढी, कोरोना उपचार विभागका प्रमुख डा.शेरबहादुर कमर भारतवाट फर्किएका नेपालीलाई सुरक्षित तरिकाले राख्न नसकिएकोले सङ्क्रमणको बढेको बताउँछन् ।

डा. कमरले सङ्क्रमित सँगको सम्पर्कमा आएकाको गर्नुपर्ने ‘कन्ट्रयाक्ट ट्रेसिङ‘ को प्रभावकारी हुन नसक्दा सङ्क्रमणको जोखिम बढेको बताए । सङ्क्रमण दर बढे सँगै प्रदेश कारोना उच्च जोखिममा पुगेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए ।

‘‘प्रयोगशालाले दैनिक २५० नमूना जाँच्न सक्ने क्षमता राख्दछ,” डा.अवस्थीले भने, ‘‘दिनमा दुई हजार नमूना सङ्कलन भइरहँदा प्रयोगशालाको जाँच गर्ने क्षमताले नभ्याउँदा सङ्कलित नमूनाको चाप बढेको छ ।” नमूनाको चाप बढेर थन्किएका दुई हजार ६६ नमूना जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनु परेको डा.अवस्थीले बताए ।

प्रदेश सरकारले डोटी र बैतडीमा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय झण्डै दुई महिना अघि गरेको थियो । सरकारको निर्णय बमोजिम आवश्यक प्रक्रिया अघि बढेकोले यही असार महिनामा प्रयोगशाला सञ्चालनमा आइसक्ने बताइएको छ । रासस