नगरपालिकाका केही काम पूरा, केही अधुरा
2022/02/20, 1:38
 
aa

चुरेमाथिको भूमि थलाका बासिन्दाका लागि खानेपानी सबैभन्दा ठूलो समस्या थियो । ३ किलोमिटर तलबाट लिफ्टका माध्यमले गाउँमा खानेपानी पुगेपछि चुरेका बासिन्दाको वर्षौंदेखिको पानी सपना पूरा भएको छ । 

‘पानीमात्र होइन हामीले कल्पना पनि नगरेको अर्को काम पनि भएको छ,’ स्थानीय बुद्धि धामीले भने, ‘साँदनीदेखि मलास जोड्ने सडक बनेर गाउँमा मोटर पनि पुगेको छ ।’ उनका अनुसार गत स्थानीय निर्वाचनका समयमा स्थानीयका मागमध्ये २ वटा प्रमुख माग पूरा भएका छन् । उनले भने, ‘यसबाहेक आधारभूत स्वास्थ्य चौकी बनेको छ । विद्युत् जोड्ने काम सुरु भएको छ, विद्यालयको अवस्थामा आमूल सुधार भएको छ ।’ यसबाहेक चुनावमा नगर प्रमुख भीमबहादुर साउँदले गरेका वाचामध्ये अझ केही हुन बाँकी छन् ।

महाकालीपारि भारतीय एसएसबी क्याम्पमा बलेको बिजुलीको उज्यालो पछ्याउँदै राति घरबाहिर निस्कने परशुराम नगरपालिका–६ का बासिन्दाको घरघरमा मात्र होइन बाटोछेउमा पनि अहिले बिजुली बलेको छ । खानेपानीका लागि चुरेबाट निस्कने पानीको मूलमा भर पर्नुपर्ने उनीहरूले व्यवस्थित खानेपानी योजना बनाएका छन् । नगरपालिका केन्द्र जोड्ने दुई–दुईवटा सडक निर्माण भएका छन् । सामान्य उपचारका लागि गाउँमै तीनरचार जना स्वास्थ्यकर्मी भएको आधारभूत स्वास्थ्य चौकी छ । समस्या पर्दा चाँडोभन्दा चाँडो जोगबुढामा रहेको अस्पताल पुर्‍याउने एम्बुलेन्स छ । सधैंभरि दरबन्दी र भौतिक व्यवस्थापन नभएका विद्यालयहरूमा दुवै काम भएका छन् ।

महाकाली नदीले भारतको चर्चित टनकपुर नगरपालिकासँग सीमा छुट्याएको देशको सीमान्त परशुराम नगरपालिकाले ५ वर्ष नबित्दै आफ्नो स्वरूप परिवर्तन गरेको छ । ‘टनकपुरसँग प्रतिस्पर्धा गर्ने सपना अधुरो छ,’ नगर प्रमुख भीमबहादुर साउद निर्वाचनमा गरेको धेरै वाचा पूरा भएको उल्लेख गर्दै भन्छन्, ‘सर्वसाधारणका सामान्य सपना पूरा भएका छन् ।’

रंगुन उपत्यकाका नामले चिनिने यो भावर क्षेत्रको नगरपालिकामा निर्वाचनका समयमा गरिएका सबै वाचा पूरा नभए पनि ‘योजनाबद्ध विकासको थालनी भएकामा म सन्तुष्ट छु,’ नगर प्रमुख भीमबहादुर साउद भन्छन्, ‘सबै वडालाई जोड्ने सडक सञ्जाल, परशुरामधामको बृहत्तर विकास, नगर शिक्षा विकास योजना, उज्यालो नगरपालिका अभियान, नगर सडक गुरुयोजना र रंगुन नदी नियन्त्रण जस्ता महत्त्वपूर्ण काम भएको छ ।’

डोटीको बुडरदेखि परशुराम नगरपालिका केन्द्र जोगबुढासम्मको कालोपत्र सडक, जोगबुढादेखि लिप्ना हुँदै कञ्चनपुरको दैजी जोड्ने सडकको स्तरोन्नति, परशुराम नगरपालिकादेखि भागेश्वर गाउँपालिका जोड्ने सडक निर्माणको प्रयास पनि ५ वर्षको उपलब्धिका रूपमा जनप्रतिनिधिहरू दाबी गर्छन् । जनप्रतिनिधिहरूले नगरपालिकामा दुईवटा प्राविधिक कलेज, त्रिवेणी बहुमुखी क्याम्पसमा वन विज्ञान संकाय थप्ने विषयलाई उपलब्धिका रूपमा लिएका छन् । १ सय २० वटा नगर शिक्षकको दरबन्दी, यस्तै स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन नगरपालिकाले समय–समयमा गरेको प्रयासलाई पनि जनप्रतिनिधिहरू उपलब्धि ठान्छन् ।

‘सबैभन्दा ठूलो उपलब्धि परशुरामधाम विकासको गुरुयोजना निर्माण र ३ अर्बको प्लान स्वीकृति हो,’ कांग्रेसका क्षेत्रीय सभापति कैलाश पाण्डेयले भने, ‘विकास बजेट संघीय वा प्रदेश सरकारको भए पनि नगर प्रमुख साउदको प्रयासबिना सम्भव नभएकाले यसलाई पनि उपलब्धि मान्नुपर्छ ।’ उनका अनुसार सम्भवतः स्थानीय तहमा सबैभन्दा बढी कानुन, ऐन र नियमावली बनेको पनि परशुराम नगरपालिकामा नै हो । पाण्डेयले दाबी गरे, ‘यस अवधिमा १ सय २५ कानुन बने, ७२ वटा नियमावली र त्यत्तिकै संख्यामा कार्यविधिसमेत बनेका छन् ।’

नगरपालिकाको पहिलो कार्यकालको अर्को उपलब्धि वन फँडानीले बगर बनेको नगरपालिकाका अधिकांश क्षेत्रमा नदी नियन्त्रण र चुरे क्षेत्रमा वन संरक्षण रहेको स्थानीयको भनाइ छ । स्थानीयवासी चूडा पनेरुले भने, ‘आधाभन्दा बढी बगर बनिसकेको उब्जाउ क्षेत्र फेरि हराभरा भएको छ । नदी नियन्त्रण भएपछि विस्थापित भएका दर्जनौं बस्ती फेरि पुनःस्थापना भएका छन् । ‘यो पनि ठूलो उपलब्धि मानेका छन् ।’ नगरका भित्री सडक कालोपत्र हुने क्रम सुरु भएको छ । उनले भने, ‘निर्वाचनका समयमा जनाइएका प्रतिबद्धता सबै पूरा नभए पनि महत्त्वपूर्ण काम भएको छ भन्न सकिने अवस्था छ ।’

गत निर्वाचनमा नगर प्रमुखमा पराजित माओवादीका स्थानीय नेता शेरसिंह माल भने यो ५ वर्षमा अपेक्षित विकास निर्माण हुन नसकेको गुनासो गर्छन् । माल भन्छन्, ‘जुन तरिकाले जानु पर्थ्यो त्यो हुन सकेको छैन ।’ शिक्षा, स्वास्थ्यदेखि सबै विकास निर्माणको कम्तीमा १० वर्षे गाइड लाइन बनाएर जानु पर्थ्यो त्यो हुन नसकेको मालले बताए ।

नगर प्रमुखमा थोरै मतले पराजित मालले भने, ‘विधि प्रक्रिया, समस्याको पहिचान र समाधानका निमित्त के गरिनुपर्छ भन्ने विषयमा सामान्य कामसमेत हुन सकेको छैन ।’ उनले अहिले पनि महिलाले प्रसूति समस्या लिएर धनगढी जानुपर्ने अवस्था अन्त्य हुन नसकेको उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्रमा भवन खडा गरेर मात्र विकास हुँंदैन, साधन स्रोतको व्यवस्थापन हुन सकेको देखिएन,’ माल भन्छन्, ‘प्रदेश र संघीय सरकारले गरेका कामलाई नगरको उपलब्धि मान्न सकिँदैन,’ उनले भने, ‘विकास निर्माणका सामान्य सिद्धान्तको समेत पालना हुन सकेको देखिएन ।’

नगर उपप्रमुख कलावती बोहराले प्रतिबद्धताअनुरूप भयो वा भएन जनताले मूल्यांकन गर्ने समय नजिक आएको बताइन् । ‘अनुभूति हुने गरी विकास भएकामा मचाहिँ सन्तुष्ट छु ।’ नगर प्रमुख साउद सबै वडालाई जोड्ने सडक कालोपत्र गर्ने, पालिकाका सबै गाउँमा बिजुली बाल्ने, परशुरामधामदेखि कुर्मुलेसम्मको ६ किलोमिटर लामो महाकाली तटबन्ध निर्माण गर्ने जस्ता केही महत्त्वपूर्ण काम हुन नसकेको बताउँछन् । पहिलो पटक गठन भएको नगरपालिकाको आफ्नो आम्दानी केही नभएको उनले बताए । ‘सबै अनुदानको भर पर्ने भएकाले पनि धेरै गर्न सकिएन जस्तो लागेको छ,’ उनले भने ।