शुक्लाफाँटामा भूक्षय रोक्न जैविक तटबन्ध निर्माण
2022/02/27, 9:32
 
dd

भूक्षय रोक्नका लागि शुक्लाफाँटा नगरपालिका–३ स्थित सनबोरा नदी र स्याली नदीमा जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ। वडा कार्यालयको रु दुई लाख र नेपाल रेडक्रस सोसाइटी शाखाको रु एक लाख गरी तीन लाखको लागतमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

उनका अनुसार स्याली नदीमा २०० मिटर र सनबोरा नदीमा १०० मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ। “दक्ष मजदुरको ज्याला, बाँस खरिदका लागि बजेटको व्यवस्था मिलाएका छौँ”, वडाध्यक्ष चौधरीले भने, “स्थानीय बासिन्दाले टोलअनुसार पालैपालो तटबन्ध निर्माणका लागि श्रमदान गरिरहेका छन् ।” रेडक्रसले आर्थिक सहयोगसँगै तटबन्ध निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ। 

स्याली नदीमा जैविक तटबन्ध निर्माणको कार्य पूरा भएको छ भने सनबोरा नदीमा तटबन्ध निर्माणको कार्य जारी रहेको वडाध्यक्ष चौधरीको भनाइ छ। “ग्याबिन जालीसहितको ढुङ्गाको तीन हजार मिटर लम्बाइको तटबन्ध निर्माण गर्दा रु ५० लाख बढी खर्च लाग्थ्यो”, वडाध्यक्ष चौधरीले भने, “थोरै रकममा जैविक तटबन्ध निर्माण हुने भएकाले यसलाई चार वर्षदेखि निरन्तरता दिँदै आएका छौँ।” जैविक तटबन्ध निर्माणपश्चात् नदी तटीय क्षेत्रमा घाँस, बाँसलगायतका बिरुवा रोप्ने कार्यले विगतमा हुँदै आएको भूक्षयको कार्यपूर्णरुपमा रोकिएको छ।