महाकाली नदीमाथि मोटरेबल पुल
2022/03/04, 11:44
 
dd

दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुनेभएको छ ।  महाकाली नगरपालिका ८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।

नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयवासीले बताउने गरेका छन् ।

गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी भने खुसी भएका छन् । भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । धेरै पहिला महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माण हुने सुनिश्चितता हुँदा खुसी छाएको धापका स्थानीयवासी भुवन जोशीले बताए ।

पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुने यस क्षेत्रका स्थानीयवासीको भनाइ छ ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकामलाई लक्षित गरी निर्माण हुन लागेको पुलले नेपाल–भारतबीचको व्यापारलाई सहजता तुल्याउनेछ । पुल निर्माण स्वास्थ्य उपचारदेखि व्यापारिक हिसाबले पनि स्थानीयवासीलाई सहज हुने भएको छ ।