सुदूरपश्चिमका ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९० पुग्यो, कुन जिल्लाका कति ?
2020/06/20, 1:16
 
korona

सुदूरपश्चिमका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ७९० पुगेको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले  मेलौली नगरपालिकाका एक महिला र ४ पुरुषमा कोरोना देखिएको पुष्टि गरे । उनीहरु पाँचै जना भारतबाट आएको बताईएको छ ।

क्वारेन्टिनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि शुक्रवार मात्र बैतडीमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बैतडीमा संक्रमितको संख्या एक सय २१ पुगेको छ ।

सुदूरपश्चिमका ७९० जना कोरोना संक्रमित पुगेका छन् । पछिल्ला दिनमा एकै दिन सयौंको संख्यामा संक्रमित थपिदा संक्रमितको संख्या ह्वात्तै वढेको हो । पछिल्लो एक महिनाको अवधिमा मात्रै पानै आठ सय जना संक्रमित भेटिएका छन् । सुरुमा कम मात्रामा हुने परिक्षणको दायरा विगतको तुलना केही वृद्धि भएसँगै संक्रमितको संख्या उकालो लागेको हो । 

अहिलेसम्म सबैभन्दा बढी संक्रमित कैलालीका रहेका छन् । कैलालीमा मात्रै संक्रमितको संख्या दुई सय आठ पुगेको छ । कैलालीपछि डडेल्धुरामा संक्रमित रहेका छन् । त्यहाँ एक सय ३२ जना संक्रमित रहेका हुन् । त्यसैगरी तेस्रो स्थानमा वैतडी रहेको छ । वैतडीमा एक सय २१ जना रहेका छन् । चौथोमा कञ्चनपुर रहेको छ । कञ्चनपुरमा कञ्चनपुरमा ९६, अछाममा ७४, बाजुरामा ७०, डोटीमा ६१, बझाङमा २० जना संक्रमित रहेका छन् सवैभन्दा कम संक्रमित दार्चुलामा रहेका छन् । दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ  । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

कति जनाको भयो परिक्षण ? 
सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी हालसम्ममा ९६ हजार ६० जनाको आरडिटी र पिसिआर जाँच गरिएको छ । पिसिआर जाचका लागि १५ हजार ४ जनाको थ्रोट स्वावको नमुना संकलन गरिएकोमा १० हजार २४५ जनाको मात्रै जाँच भएको छ । जसमा ९ हजार ४७५ जनाको कोरोना नेगेटिभ आएको छ भने ७७० जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । उनले ४ हजार ७५९ जनाको थ्रोट स्वावको जाँच गर्न बाँकी रहेको बताए । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले प्रदेशका विभिन्न अस्पतालहरुबाट अहिलेसम्ममा १२४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको बताएका छन ।

कुन जिल्लाका क्वारेन्टिनमा कति ?
प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टिनमा ३७ हजार २०५ जना रहेका छन् । ६ हजार ९९३ महिला र ३० हजार २१२ पुरुष गरि ३७ हजार २०५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । कैलालीमा सवैभन्दा वढी ४८३ स्थानमा बनाइएका क्वारेन्टिनमा महिला २०३८ र पुरुष ८८३९ गरी १० हजार ८७७ जना, कंचनपुरको १८८ ओटा क्वारेन्टिनमा महिला ६७९, पुरुष ३५५० गरि ४०२९ जना, डडेल्धुराको १५९ ओटा क्वारेन्टिनमा १४८ महिला र १२३३ पुरुष गरि १३८१ जना, अछामको २२८ क्वारेन्टिनमा ११९५ महिला र ५१४५ पुरुष गरि ६१४० जना रहेका छन । त्यस्तै बाजुराको १६३ क्वारेन्टिनमा ९४० महिला र २११० पुरुष गरि ३०५० जना, बैतडीको २५० क्वारेन्टिनमा ४०७ महिला र २०४१ पुरुष गरि २४४८ जना, बझाङको २६५ क्वारेन्टिनमा ५३३ महिला र १८८५ पुरुष गरि २४१८ जना र दार्चुलाको ८६ क्वारेन्टिनमा ४१ महिला र ८१० पुरुष गरि ८५१ जना रहेका छन ।