फेसबुकमा स्टाटस लेखेको भन्दै कर्मचारीको दुर्गममा सरुवा
2022/03/08, 12:57
 
dd

 दार्चुलाको मार्मा गाउँपालिकाका एक कर्मचारीलाई फेसबुकमा स्टाटस लेखेकै भरमा सरुवा गरिएको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामीको निर्देशनमा लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट बसन्त खत्रीलाई सरुवा गरिएको हो ।

गाउँपालिकाले उनलाई सोमबार सितोला स्वास्थ्य चौकीमा सरुवा गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष धामीलाई संकेत गर्दै ‘बेलुकापख केही पत्रकारहरुलाई बार\भट्टी पसलमा बोलाएर मेरो बारेमा यस्तो...समाचार बनाईदेउ भनेर भेटिसहित बिन्ती गर्दैमा विकास हुने भए प्रथम भइन्छ होला क्यार...,’ लेखेका थिए । 

उक्त स्टाटसकै कारणले गाउँपालिका अध्यक्षले आफ्नो सरुवा गरेको हेल्थ असिस्टेन्ट खत्रीले बताए । ‘मैले त्यो स्टाटसमा गाउँपालिका अध्यक्षलाई जोडेको छैन्,’ उनले भने, ‘अन्य प्रसंगमा लेखेको थिए, मलाई कानून विपरीत सरुवा गरियो, एउटा संस्थामा कम्तिमा २ वर्ष बस्नुपर्ने प्रावधान छ ।’ उनी गत चैतबाट लटिनाथमा कार्यरत थिए ।

फेसबुक स्टाटस लेखेकै भरमा दुःख दिने गरी घरबाट २\३ घण्टाको दुरीमा रहेको स्वास्थ्य चौकीमा आफूलाई सरुवा गरिएको उनको भनाई छ । ‘२०७६ सालमा पोखरा महानगरपालिका–२३ स्थित भदौरी स्वास्थ्य चौकीबाट समायोजनको क्रममा मेरो यहाँ सरुवा भएको थियो,’ उनले भने, ‘घर पायक भनेर सरुवा भएको थियो, त्यो समयमा पनि आफूलाई तपोवन स्वास्थ्य चौकीमा खटाउने भनेर टिप्पणी गरियो, पछि गुल्जर स्वास्थ्य चौकीमा खटायो ।’

गाउँपालिकाले उनलाई २०७७ चैतमा गुल्जर स्वास्थ्य चौकीबाट लटिनाथ स्वास्थ्य चौकीमा सरुवा गरेको थियो । उनी कांग्रेस निकट निजामती कर्मचारी यूनियन दार्चुलाको सदस्य हुन् । पालिका अध्यक्ष धामी नेकपा मओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।