सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८७९ पुग्यो 
2020/06/20, 6:11
 
korona

सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष,  डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय पाँच, डडेल्धुरामा एक सय ४४, बैतडीमा एक सय ३८, डोटीमा एक सय २२, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन् ।