सहजपुर–बोगटान सडक : ३८ महिनामा ५३ प्रतिशत प्रगति
2022/03/11, 2:07
 
da

 सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन सहजपुर–बोगटान सडकको प्रगति निराशाजनक रहेको छ । दोस्रो पटक म्याद थप गर्दा पनि काम सुस्त हुँदा प्रगति निराशाजनक रहेको हो ।

भारतीय एक्जीम बैंकको ऋण सहयोगमा निर्माणाधीन ३० महिनाभित्र निर्माण गरिसक्ने सम्झौता भएको ३८ महिना बित्दा भौतिक प्रगति भने ५३ प्रतिशतमात्र पूरा भएको छ ।कैलाली र डोटीका दर्जनौँ ग्रामीण बस्तीलाई जोड्ने यो सडक ३० महिनाभित्र निर्माण गर्ने गरी २२ मंसिर २०७५ मा पीआरएल–कुमार जेभीसँग सम्झौता भएको थियो ।

पहिलो पटक थप गरिएको छ महिनामा काम पूरा नभएपछि सरकारले दोस्रो पटक पुनः छ महिना म्याद थप गरेको छ । तर अहिले पनि काम तीव्र गतिमा हुन सकिरहेको छैन । ‘हालसम्मको प्रगति हेर्दा दोस्रो पटक थपिएको समयभित्र पनि सडक निर्माणले पूर्णता पाउने देखिदैन ।’ आयोजना प्रमुख उज्जल श्रेष्ठले भने, ‘काम सकिन अझै एक वर्ष लाग्छ ।’

५० किलोमिटर लामो यो सडकमा हालसम्म पाँच किलोमिटरमा पहिलो पत्रको कालोपत्रे गरेर दोस्रो चरणको कालोपत्रे गर्ने तयारी छ । जुन कैलालीमा पर्छ । यस्तै १३ किलोमिटरमा ग्राभेल गर्ने कार्य सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए । छ किलोमिटर सडक भने ‘कटिङ्ग’ गर्नै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

सडकमा परेका १७ वटा घरको मुआब्जाको विषय अझै टुङ्गिएको छैन । सडकअन्तरगत कैलालीमा पर्ने १८ किलोमिटरमा सडकको क्षेत्राधिकारभित्रका घरको मुआब्जा भने टुङ्गिएको छ । मुआब्जाबारे छलफल भइरहेको प्रमुख श्रेष्ठले बताए । सडक निर्माणमा अवरोध भने नरहेको आयोजनाले जनाएको छ । यो सडक कैलालीमा १८ किलोमिटर र बाँकी डोटीमा पर्छ ।

कैलालीको सहजपुरदेखि डोटीको अत्तरकाँडासम्मको यो सडकले कयौँ ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्नेछ । तर सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीय निराश छन् । निर्माणको क्रममा रहेकाले स्थानीयले आवतजावतमा समेत निकै समस्या भोग्नु परिरहेको छ । सरकारको उदासिनताले सडक निर्माणमा ढिलाइ भएको उनीहरुको आरोप छ । 

‘निर्माण सम्झौता भइसकेको सडकका रुख काट्ने अनुमति लामो समय रोक्नु सरकारको लापरबाही हो ।’ प्रभावित क्षेत्र निगालीका स्थानीय अमृत धामीले भने, ‘रुख काटेपछि पनि कामले तीव्रता पाएको छैन । निर्माणमा ढिलो हुँदा हामीले दुख पाएका छौँ ।’ विगतमा रुख कटानका कारण भन्दै कामलाई तीव्रता नदिएको निर्माण कम्पनीले अब कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

सडकको क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति नपाउँदा काम प्रभावित भएको हो । कोरोनाको कारण पनि केही समय काम प्रभावित भएको निर्माण कम्पनीको भनाइ छ । सडक निर्माण गर्ने सम्झौता भएको २७ महिनापछि मात्र सरकारले रुख काट्ने अनुमति दिएको थियो । अहिले भने सडकको क्षेत्राधिकार खाली भए पनि कामले तीव्रता नपाएको स्थानीयले जनाएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ फागुन २०७५ मा डोटीको वीपीनगरमा सडक कालोपत्रेको शिलान्यास गरेका थिए । त्यस क्रममा ३० महिनाभित्रै सडक कालोपत्रे पूरा गरिने प्रतिवद्धता ओलीले स्थानीयसमक्ष जनाएका थिए । तर उनी नेतृत्वकै सरकारले निर्माण अवधि सकिनै लाग्दामात्र रुख काट्ने अनुमति दियो । गत वर्ष माघमा मन्त्रीपरिषद् बैठकले सडक क्षेत्रमा पर्ने करिब तीन हजार आठ सय रुख काट्ने अनुमति दिने निर्णय गरेको थियो । 

रुख कटान सकिएपछि बर्खा सुरु भएर काम गर्न नपाएको र यो हिउँदमा पनि पटकपटक पानी परेकाले काम प्रभावित बनेको निर्माण कम्पनीले जनाएको छ । अहिले भने काम निरन्तर भइरहेको सडकको प्राविधिक पक्षको अनुगमनको जिम्मा पाएको सोयल टेस्ट कन्सलटेन्सी प्रालिका आवाशीय इन्जिनियर पुष्पराज भट्टले बताए । यो आर्थिक वर्षभित्र करिब ३० किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । 

रुख काट्न ढिला भएको भन्दै निर्माण कम्पनीले थप समय दावी गरेपछि दोस्रो पटक थपिएको म्याद असारमा सकिदैछ । सडकको क्षेत्र खाली नभएको र केही समय कोरोनाले काम प्रभावित भएकाले निर्माण कम्पनीको मागअनुसार जनवरी २३, सन् २०२३ सम्म अवधि थप गर्न सिफारिस गरिएको उनले जानकारी दिए । ‘सम्झौता अवधि सकिने बेला रुख काट्ने अनुमति पाइयो ।’ भट्टले भने, ‘काम आगामी आर्थिक वर्षसम्म जान्छ ।’

भारतीय एक्जीज बैंकको दुई अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल सरकारले यो सडक निर्माण गरिरहेको हो । भेरियसनपछि लागत केही बढेको इन्जिनियर भट्टले जानकारी दिए । पहिलेको स्टीमेटमा वाल, ग्याविन र खोलामा तटबन्ध थप्नुपर्ने भएकाले करिब २२ करोड रुपैयाँ थप लागत लाग्ने भट्टले जानकारी दिए । यसअघि ट्रयाक खोलिसकिएको यो सडक थप चौडा गरेर कालोपत्रे गर्न लागिएको हो ।

आयोजनाको लिडिङ भारतीय कम्पनीले गर्नुपर्ने र कुल लागतको ५० प्रतिशत मूल्यको सामान भारतीय कम्पनीबाट खरिद गर्नुपर्ने ऋण दिँदा एक्जिम बैंकको शर्त रहेको आयोजना कार्यालयले जनाएको छ । निर्माणको ठेक्का पाएको पीआरएल भारतीय र कुमार नेपाली कम्पनी हो । निर्माणको काम कुमारले गरिरहेको सोयल टेस्ट कन्सलटेन्सी प्रालिका आवाशीय इन्जिनियर भट्टले जानकारी दिए ।