पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु : प्रचण्ड
2022/03/13, 12:39
 
aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावपछि एमसीसीबारे पार्टीभित्र छलफल हुने र त्यसबाट एमसीसी फेल भए राजीनामा दिने बताएका छन्। विराटनगरमा पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनले भने, ‘हाम्रो पार्टीभित्र पनि यो विषयमा एउटै मत भइसकेको छैन। मतभेद कायम नै छ। चुनावसम्म यो विषयमा एउटै विचार बनाउने र निर्वाचनपछि फोरम चलाएर छलफल गर्ने भनेका छौं । स्थानीय तहको चुनावपछि पार्टीमा एमसीसी बारे छलफल हुन्छ। छलफलमा एमसीसी फेल भए राजीनामा दिन्छु।’

व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रुपमा सार्वभौम संसद प्रतिनिधि सभाबाट पारित भएको बताए। प्रचण्डले भने, ‘एमसीसीको बारेमा लामो समयदेखि बहस चल्दै आयो। व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रुपमा सार्वभौम संसद प्रतिनिधि सभाबाट पारित गरिएको छ। अहिलेलाई यो समस्याको समाधान निकालेका छौं। यदी हामीले गरेको व्याख्यात्मक घोषणा कार्यान्वयनको क्रममा कहीं कतै मिनिमाइज गरियो भने त्यही विषय आन्दोलनको विषय हुन सक्छ। हामी चाहन्छौं त्यसतो नहो्। व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनको रुपमा जाने विश्वास लिएका छौं।’

प्रचण्डले स्थानीय तहको निर्वाचनमा जनताको घर-घरमा जाने बताए। प्रचण्डले भने, ‘संसद असंवैधानिक तरिकाले विघटन गरियो। संघीयता, धर्मनिरपेक्षता धरापमा पर्ने स्थिति थियो। अब विघटनकारी शक्ति र अग्रगमनशक्ति बीच चुनावमा लडाइँ हुन्छ।’