निर्माण कम्पनीको लापरवाहीले पुल निर्माणमा ढिलाइ
2022/03/13, 1:42
 
da

 बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणमा ढिलाइ भएको छ । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो ।

५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो । ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीले तदारुकताका साथ काम नगर्दा अहिलेसम्म पुल निर्माण कार्य पूरा भएको छैन । चार करोड ४७ लाख लागतमा निर्माण हुने सो पुलको ठेक्का अवधि २०७५ असार ३० सम्म रहेको थियो । तर, अझै पुल अधुरै रहेको छ ।

ठेकेदारको लापरवाहीले गर्दा छ वर्षसम्म पनि पुल निर्माण कार्य पूरा हुन नसकेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।त्यस्तै, बडिमालिकाकाकै बाउली खोलमा निर्माणाधीन २५ मिटर पक्की पुल निर्माणको कार्य पनि तदारुकताका साथ हुन सकेको छैन ।

२५ मिटर लामो सो पुलको निर्माणको कार्य सुस्त गतिमा भइरहेको छ । एक वर्ष निर्माण अवधि रहेको पुल निर्माणको ठेक्का टीडीआर जुगल कौशिक जेभीले पाएको छ । सो पुलको लागत रकम चार करोड ९५ लाख रुपैयाँ रहेको छ । पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा स्थानीयलाई समस्या रहेको छ ।