सुदूरपश्चिममा थप १६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४८ पुग्यो 
2020/06/20, 6:37
 
korona

सुदूरपश्चिममा शनिवार थप १६३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा ६९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो । 

धनगढी स्थित सेती प्रयोगशालामा गरिएको परिक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा कैलालीका २४, डडेल्धुराका २७, डोटीका ११, अछामका २, वैतडीका २ बझांगका २ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष,  डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ सय ४८ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछामका ७६, बाजुराका ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।