भारतमै लुक्यो भुपेन्द्र हत्याका योजनाकार नवीन रावलको समूह
2022/03/14, 1:49
 
da

कैलालीमा २३ वर्षीय भुपेन्द्र वडुवाल हत्या प्रकरणमा नौजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेका छन् । गत कात्तिक २३ गते टीकापुरमा भुपेन्द्रको हत्या भएको थियो । घटनामा संलग्न नवीन रावललगायत अन्य केही फरार रहेको र उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए ।

चिसापानी बस्ने नवीन रावल, अनुज भन्ने चिरञ्जीवीजंग शाही, हिमाल शाही, जयन्द्र शाह, रोशनबहादुर शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही फरार छन् । नवील रावलको समूह भारतमा लुकेर बसेको प्रहरी निस्कर्ष छ ।

सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीच पछि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भएपछि दुई समूहका युवाबीच पटकपटक झगडा हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यी समूहका सदस्यहरुविरुद्धमा कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र दुईवटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको खुलेको थियो । ०७८ भाद्र महिनामा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाई ०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा गएको र २० गते कैलाली लम्की पुगी होटलमा एक रात बसेर हत्या योजना बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।  

२१ र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नवीन रावललाई आक्रमण गर्ने योजना बनाएको खुलेको थियो । कात्तिक २३ गते नवीन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको जानकारी कपिल श्रेष्ठले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेको भए पनि उनको समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाँउमा आक्रमण गर्न नसकेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

मदन शाहीले त्यहाँबाट पहिले नै लम्की विद्युत् कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नवीन रावलसमेतलाई भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिएपछि नवीन रावलले आफ्ना समूहका आर्यान, हिमाल, हेमन्त, मदनलगायतलाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना बनाएका थिए ।   

कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपछि भुपेन्द्र उनलाई लिन गएको देखिएको थियो ।

नवीन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँडेको र उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिला स्कुटीमा, उनको पछाडि अर्को स्कुटीमा चिरञ्जीवी शाही र रोशन शाही र उनीहरुभन्दा पछाडि नवीन रावलसमेत निस्किएको देखिएको थियो ।

टीकापुरको जमरा पुल नजिक आर्यन देवकोटालगायतले भुपेन्द्र बडुवाललाई फेला पारी हामीविरुद्ध टीकापुरमा आएको हो भन्दै दुई किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक पुर्याएको खुलेको थियो ।

मोटरसाइकलमा रहेका भूपेन्द्र मोटरसाइकल छाडेर आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले कौशीदेवी विष्टको घरको पेटीमा नै भुपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीमा दुई पटक, पिठ्युमा तीन पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरेका थिए ।

घटनाका मुख्य योजनाकार नवीन रहेको प्रहरीले बताउँदै आएको छ । नवीनले टिकापुर क्षेत्रमा विभिन्न अपराधीक काम गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।