सुदूरपश्चिममाका ५४१२ स्वाब परीक्षणका लागि काठमाडौँ पठाईयो, तीन हजार भिटिएम पुग्यो
2020/06/20, 7:08
 
korona

सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका पाँच हजार बढि थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । विभिन्न जिल्लाबाट संकलन गरीएको ५ हजार ४ सय १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा नमुना परीक्षण गरिनेछ । विभिन्न क्वारेन्टिनमा बसेका तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तीको नमुना पठाईएको निर्देशक अवस्थीले बताए । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा चाप बढी भएपछि यसअघि दुई हजार ६६ जनाको नमुना पठाइएको थियो ।

यस्तै संघीय सरकारले कोरोना परीक्षणका लागि स्वाव संकलन गर्दा आवश्यक पर्ने भिटिएम पठाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भिटिएम पठाएको जानकारी दिए । यस्तै सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेको उनले बताए ।

भिटिएम ल्याइएसंगै फेरी स्वाब संकलनको काम आईतवारदेखि सुरु हुने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । 
प्रदेश सरकारसंग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन । तर स्थानीय तहले भने भिटिएम खरिद गरेर स्वाब संकलन जारी राखेका थिए ।