सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी ७५ प्रतिशत तयारी सकीयो
2022/03/23, 8:03
 
dd

धनगढीमा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र पारिएको छ । चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी ७५ प्रतिशत सकीएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

धनगढी उपमहानरगपालिका–१ पशुपति टोलको खाली जमिन लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र पारिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने आयोजकले जनाएको छ । यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने आयोजकको दाबी छ ।

२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको यो १५ औँ संस्करण हो । महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कुँवरले बताएका छन् ।सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा पनि महोत्सव फलदायी हुने आयोजकको दाबी छ । यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

 

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटेल र सूचना प्रविधि गरी तीन सय भन्दा बढी स्टलहरू राखिने भएको छ । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने कुँवरले बताए । महोत्सवको आयोजनामा एक करोडभन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको हो । यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।