आइसोलेसन व्यवस्थापनमा चुनौती 
2020/06/21, 7:47
 
korona

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटै स्थानीय तहलाई कम्तीमा ५० बेडको आइसोलेसन तयार पार्न निर्देशन दिएको छ । स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले स्वास्थ्य मन्त्रालयको पछिल्लो कोभिड–१९ रोकथाम तथा उपचार कार्यविधि अनुसार लक्षण नदेखिएकालाई घरकै आइसोलेसनमा राख्ने निर्देशन गरेको बताए ।

पालिका प्रमखहरू भने संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन कार्यान्वयन गर्न असहज भएको बताउँछन् । ‘स्थानीय तहले बाहिरबाट आएकालाई क्वारेन्टाइनको व्यवस्थापन गर्न आफैंमा चुनौती थियो,’ धनगढी उपमहानगरका मेयर वडले भने, ‘अहिले कोरोना परीक्षण र उपचारमा समेत पालिकाले व्यवस्था गर्नुपर्दा झन् चुनौती बढेको छ ।’ कैलालीकै गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले स्थानीय तहलाई तुरुन्तै आइसोलेसन बनाउन गरिएको निर्देशन कार्यान्वयन गर्न असहज भएको बताए । ‘अहिले संक्रमितको संख्या बढेपछि उपचारको व्यवस्था पनि आफैं गर भन्नु ठीक होइन,’ उनले भने ।

बैतडीमा कोरोना संक्रमित बढेपछि पालिकाहरू आइसोलेसन वार्ड निर्माणमा लागेका छन् । १० वटा स्थानीय तह रहेको जिल्लामा सिगास गाउँपालिकाले २५ बेडको आइसोलेसन वार्ड तयार पारेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए । धनगढी उपमहानगरले वडा नं १५ को कनरीमा निर्मित जडीबुटी प्रशोधन केन्द्रमा आइसोलेसन वार्ड बनाउन सुरु गरेको छ । कञ्चनपुरका स्थानीय तहले भने हालसम्म आइसोलेसन वार्ड बनाउन सकेका छैनन् ।