डडेल्धुरा र डोटीमा ट्रायल सेन्टर सुरु गर्ने प्रदेश सरकारको निर्णय
2022/03/31, 11:03
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टर सुरु गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता कानुन मन्त्री पूर्णा जोशीले बताइन्।  

दुवै जिल्लामा स्थापना गरिएका भौतिक यातायात व्यवस्था सेवा कार्यालयमार्फत मोटरसाइकल तथा जीपको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरी पूर्णरूपमा सेवा बिस्तार गर्ने निर्णय भएको उनले बताइन्। यस्तै डोटी र डडेल्धुरा यातायात सेवा कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरिएको छ। उक्त निर्णय भएसँगै सेवा कार्यालयमा कर्मचारीको आवश्यक दरबन्दीको व्यवस्थापन हुनेछ।

ती कार्यालयले हालसम्म चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नवीकरण, सवारी जाँच पास लगायताका आंशिक काम गर्दै आएका थिए।  प्रदेशमा धनगढी र महेन्द्रनगरमा मात्र यातायातका साधनहरूको लिखित तथा प्रयोगात्मक परीक्षा केन्द्र रहेको छ। सोही कारण लामो समय पालो कुर्नुपर्ने र लाइसेन्स लिने पक्रिया खर्चिलो बन्दै आएको छ।