सञ्चालनको तयारीमा रहेको कैलालीको गेटामा स्थापना गरिएको सैपाल ग्यास उद्योग बिक्री गरिएको छ । झण्डै १८ करोडको लागतमा स्थापना गरिएको ग्यास उद्योग एभरेष्ट ग्यास उद्योग प्रालिले किनेको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष समेत रहेका शिव घिमिरेलेउद्योग खरिद गरेको सैपाल ग्यास प्रालिका प्रबन्ध निर्देशक सिद्धराज ओझाले बताए । ग्यास सिलिन्डर भएर बजारमा लैजाने तयारीमा रहेको सैपालको पूर्ण स्वामित्व एभरेष्ट ग्यास उद्योग प्रालिलाई बिक्री गरिएको प्रबन्ध निर्देशक ओझाले जानकारी दिए ।
ओझा सहित कैलालीकै पाँच जना व्यवसायीले संयुक्त रुपमा गोदावरी नगरपालिका वडा नम्बर १ गेटामा ग्यास उद्योग सञ्चालनमा ल्याएका थिए । प्रबन्ध निर्देशक ओझाका अनुसार मानबहादुर शाही, गोपालबहादुर शाही, दिनेश शाही र निर्मलादेवी भट्टले संयुक्त रुपमा उद्योग स्थापना गरेका थिए ।
उद्योगले केही महिना अघि मात्र नेपाल आयल निगमबाट उत्पादनको अनुमति पाएको थियो । एक सय मेट्रिक टनका दुई वटा ट्याङकीबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी १४ हजार सिलिन्डरमा एकै पटक ग्यास भर्न सकिनेछ व्यवस्था उद्योगमा रहेको छ ।