बाजुराको बुढीगंगामा अझै स्थानीय चुनाव अनिश्चित
2022/06/13, 11:09
 
ss

देशका ७५२ स्थानीय तहमा निर्वाचन भई नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्दै कामकाज सुरू गरिसक्दा बाजुराको बुढीगंगा नगरपालिकामा भने स्थानीय चुनाव अनिश्चित बन्दै गएको छ। यहाँ वैशाख ३० मा भएको स्थानीय चुनावमा फर्जी मत खसेको भन्दै मतगणना गरिएको थिएन।

निर्वाचनका बेला सुरक्षा निकायको लापरबाही देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा निर्वाचन अधिकृत पनि परिवर्तन गरी नयाँ पठाइएको थियो। तैपनि निर्वाचनको नयाँ मिति तोक्नेबारे अझै सहमति जुटेको छैन। गत शुक्रबार निर्वाचनको मिति तोक्न गरिएको छलफल विनानिष्कर्ष सकियो।

नेकपा एमाले बाजुराले वैशाख ३० मा भएको चुनावकै मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएको छ।  शुक्रबारको बैठकमा सर्वोच्चमा दिएको मुद्दाबारे कम्तिमा पनि एकपटक सुनुवाइ हुन दिएपछि मात्रै निर्वाचनको मिति तोक्नेबारे छलफलमा बस्न सकिने एमालेले बताएको थियो।

त्यसपछि मंगलबार बस्ने गरी बैठक स्थगित गरिएको थियो। जेठ ३१ गते मंगलबार सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ। यो बैठकबाट पुनस् निर्वाचनका लागि नयाँ मिति तोक्ने तयारी छ।  यहाँ वैशाख ३० को निर्वाचनमा एमाले कार्यकर्ताले बुथ कब्जा गरेको आरोप कांग्रेसको छ भने एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाएपछि विवाद भएको थियो।

कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए।  मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीले प्रभावकारी भूमिका नखेलेको आरोप पनि छ। त्यसैले निर्वाचन आयोगले सिडिओसहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुनस् निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको थियो।

चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको थियो।  पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए।

‘अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिका लगायत निर्वाचन सामग्री छाडेर हिनेकोु जानकारीसहित उनले आयोगलाई पत्र पठाएका थिए।  त्यसपछि आयोगले बुढीगंगामा पुनस् मतदान गर्ने निर्णय गरेको थियो तर अझै चुनाव कहिले हुन्छ भन्ने यकिन भइसकेको छैन।