धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोडको बजेट
2022/06/24, 6:05
 
ss

धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब  ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा आन्तरिक आय रु २६ करोड,७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ । 

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।  १ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन्। चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ । ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ’ सो वजेट वक्तव्यमा भनिएको छ।