दार्चुलाको कालापानीमुनि ३ नेताका सालिकः जो ‘भारतीय विस्तारवाद’विरुद्ध उभिए
2022/07/03, 6:22
 
ss

दार्चुलामा भारतीय विस्तारवादविरुद्ध पहिलोपटक आवाज उठाउने तीन जना दिवंगत नेताको सालिक बनाइएको छ। भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा तीन नेताको सालिक बनाइएको हो। व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको व्याँस गाउँपालिकाको कार्यालयले जनाएको छ।

कालापानीमा रहेको भारतीय अतिक्रमणको विषय पञ्चायतकालमा पहिलोपटक तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले उठाएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए। ऐतवाल र बोहरा कालापानीमुनीको छाङरुका बासिन्दासमेत थिए। यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए। 

छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाले जनाएको छ। पालिका अध्यक्ष धामीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित रूपमै निमन्त्रणा दिने तयारी भइरहेको छ। व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा छ। भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपाल चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन।